काठमाडौं –  पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र सुदूरपश्चिमबिचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

एपीएफ र सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेलमा दुबै टिमले जित निकालेका थिए । एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको थियो । सुदूरपश्चिमले ललितपुर मेयर्स-११ लाई ७ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा ललितपुर मेयर्स र लुम्बिनी प्रदेशबिच खेल हुनेछ । खेल अपरान्ह १ बजे सुरु हुनेछ । ललितपुर पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी सुखद सुरुवात गर्ने योजनामा हुनेछ । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् । साभार : खेलपाटी


तपाईको प्रतिक्रिया