काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पताललाई ५० वेडको बनाउन बामगती प्रदेश सरकारले सैद्धान्तिक स्वीकृती दिएको छ । मन्त्रालयको फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मेथिनकोट अस्पताल सहित बाग्मती प्रदेशका पाँच वटा अस्पताललाई वेड थप गर्न सामाजिक विकास मन्त्रालयले स्वीकृती दिएको हो ।

७५ वेडको अस्पताल बनाउन सिफारिस गरेको भएपनि मन्त्रालयले ५० वेड स्वीकृत गरेको मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रामशरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेथिनकोट अस्पताल १५ वेडको स्वीकृत भएको भएपनि २२ वेडको सञ्चालन हुँदै आएको छ ।

नमोबुद्ध नगरपालिकाले गत जेठ महिनामा मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने सामाजिक विकास मन्त्रालयमा प्रस्ताव गरेको थियो । बीपी राजमार्ग समेत रहेको उक्त क्षेत्रमा दुर्घटनाका घट्ना बढ्ने भन्दै नगरले उक्त अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्न मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

मन्त्रालयले दोलखा जिल्लाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल , चितवन जिल्लाको बकुलहर रत्न नगर अस्पताललाई ५० वेड र काठमाडौं जिल्लाको टोखा चण्डेश्वरी अस्पताल र ललितपुर जिल्लाको ब्रजवाराही चापागाँउ अस्पताललाई २५ वेडका लागि फाल्गुण १३ गते स्वीकृती दिएको थियो ।


तपाईको प्रतिक्रिया