काभ्रे (तेमाल) – तुलनात्मक रुपमा पछिल्लो समय विकासमा महिलाको पहुँच बढ्दै गएको छ । महिला शिक्षित हुनुको साथै आफ्ना गाउँ ठाउँमा हुने हरेक क्रियाकलापमा सहभागीता बढेसँगै विकासका क्षेत्रमा महिलाको पहुँच बढ्दै गएको छ । अहिले कार्यक्रममा सहभागी हुने मात्र होइन, कार्यक्रमको नेत्तृत्व महिला आफैले गर्न थालेका छन् ।

पछिल्लो समय जिल्लाको तेमाल गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा महिलाको सहभागीता बढ्दै गएको छ । सहभागीतासँगै महिलाहरुले विकास निर्माण कार्यको नेत्तृत्व पनि गर्न थालेका छन् । गाउँपालिकाको वडा नं ९ स्थित भण्डारी बेसीमा महिलाकै नेत्तृत्वमा चौतारी बनेको छ । त्रिवेणी महिला समूहको नेत्तृत्वमा उक्त चौतारी बनेको गाउँपालिकाले जनाएको छ ।

विकासका क्षेत्रमा महिलाको पनि सहभागीता हुनुपर्छ भन्ने अवधारणाले नै चौतारी बनाउने नेत्तृत्व महिला समूहले लिएको समूहकी सचिव रश्मिता भण्डारीले बताइन् । ‘आफ्नो गाउँ ठाउँ हामी आफैले बनाउनुपर्छ,’ उनले भनिन्, ‘हाम्रा मौलिक परम्परा र सम्पदाको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो ।’ उनका अनुसार पुर्खयौली सम्पदाको संरक्षण गर्दै नयाँ संरचनामा चौतारी बनाइएको हो ।

हरियाली वातावरणका साथै गर्मीमा शीतलताका लागि चौतारीको आवश्यक भएकाले पुरानो संरचनालाई संरक्षण गरेर नयाँ चौतारी बनाइएको समूहकी सचिव भण्डारीले बताइन् । उक्त चौतारी निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट विनियोजित २ लाख बजेटबाट चौतारी निर्माण गरिएको गाउँपालिकाको वडा नं वडाध्यक्ष चन्द्र बहादुर तामाङले जानकारी दिए ।

चौतारी निर्माण सम्पन्न भएसँगै प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर तामाङ (बमध्व्ज) को प्रमुख आतिथ्यता र समूहकी अध्यक्ष ठूलीमाया तामाङको सभापतित्वमा उद्घाटन गरिएको थियो । चौतारीको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्रबहादुर तामाङले चौतारा निर्माणको लागि थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्दै अब चौतारामा बुद्धको मूर्ति स्थापना गर्न आफूले सहयोग गर्ने बताए ।

 

 


तपाईको प्रतिक्रिया