काभ्रे (रोशी) – कोभिड १९, रोग विरुद्धको खोप अभियानको निम्ति पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा भएको उक्त कार्यक्रममा यहि फागुन २३ गते देखि २९ गते सम्म खोप अभियान कार्यक्रम सञ्चालन हुने, हाल ६५ वर्ष भन्दा माथिको नागरिकहरुलाई खोप लगाउने भएकोले ढुक्कका साथ कोभिड विरुद्धको खोप लगाउनको निम्ति पालिका अध्यक्ष डि.वि. लामाले अनुरोध गरे ।

अभिमुखीकरण कार्यक्रममा कोभिड–१९ रोगकोे परिचय, अवस्था र यसको रोकथाम तथा नियन्त्रण ,खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया, संचालन हुने क्रियाकलापहरू,खोप समन्वय समितिको भूमिका, स्थानिय श्रोत परिचालन र जिम्मेवारीबारे छलफल भएको स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठले बताए ।

खोप कार्यक्रमको पहिलो दिन फाल्गुण २३ गते वडा नं १, २ र ३ का नागरीकले रोशी अस्थायी अस्पतालमा खोप लगाउन पाउने छन् । यस्तै फाल्गुण २४ गते वडा नं ४ का नागरिकले महादेवटार स्वास्थ्य चौकीमा लगाउने, फाल्गुण २५ गते वडा नं ५ का नागरिकले शिशाखानी स्वास्थ्य चौकीमा, फाल्गुण २६ गते वडा नं ६ का नागरिकले सिपाली स्वास्थ्य चौकीमा, फाल्गुण २७ गते वडा नं ७ र ८ का नागरिकले कटुञ्जेवेशी स्वास्थ्य चौकीमा, फाल्गुण २८ गते वडा नं ९ र १० का नागरिकले मंगलटार स्वास्थ्य चौकीमा, फाल्गुण २९ वडा नं ११ र १२ भिमखोरी स्वास्थ्य चौकीमा खोप लगाईनेछ ।

खोप केन्द्रमा विहान १० बजेदेखि ३ बजेसम्म सन्चालन हुने  स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु तथा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्का लगायत अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया