काभ्रे (चौंरीदेउराली) – जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ को मिति तय भएको छ । प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म हुने गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवम् आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवम् बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको प्रवक्ता घिसिङले बताए । प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागी हुने घिसिङले जानकारी दिए ।

‘गाउँपालिकामा रहेको ९ वटै वडाका टिम उत्साहपूर्वक सहभागी हुनेछन् । हामीले यो पटकको प्रतियोगितालाई थप व्यवस्थित गर्न लागेका छौं,’ उनले भने, ‘गाउँपालिकाले खेलकुदलाई युवाहरुको अनुशासन, बौद्धिक विकास, सुमुधुर सम्बन्ध र सदभावको विकास गर्न विशेष जोड दिएका छौं ।’ यस पटकको फुटबल प्रतियोगिता वडा नं. ३ को माझीफेदा खेलमैदानमा हुने उनले बताउँदै उद्घाटन खेल फागुन २८ गते हुने जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी संख्या अतिरिक्त र अफिसियल सहित १३ जनाको सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार यो पटक प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने लामाले जानकारी दिए । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।

 


तपाईको प्रतिक्रिया