काभ्रे (कानपुर) – नमोबुद्ध नगरपालिका–५ को कानपुरमा ल्होसार विशेष वृहत सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
२५५७ औं लाङरम्हे ल्हो सोनाम ल्होसारको अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, नमाबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको विशेष आतिथ्यता रहेको थियो ।

ल्होसार कार्यक्रम मुल समारोह समितिको आयोजना तथा नमोबुद्ध नगरपालिका र नमोबुद्ध नगरपालिका वडा नं. ५ को सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्र्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सबै समुदायका पर्व एवं संस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको बताए । सोहीअनुसार नगरपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन विदाको निर्णय गरेको जानकारी दिँदै तिमल्सिनाले यस्ता कार्यक्रमले कला संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए । ऐतिहासिक भूमि कानपुरको विकास र उन्नतिका लाग आफू निर्वाचित भएदेखि नै लागिपरेको उनले बताए ।

तिमल्सिनाले भकुण्डेबाट तेमाल जोड्ने सडकको नाम अन्तिम तामाङ राजा रेन्जेन दोर्जेको नाममा राखिएको जानकारी दिँदै कानपुरमा रहेको रेन्जेन दोर्जेको दरबार रहेको ठाउँमा संग्रहालय स्थापनाका लागि तयारी अघि बढाइएको बताए । वौद्ध धर्म संस्कृतिको संरक्षणका लागि एक वडा एक वुद्ध मुर्ति तथा एक वडा एक वुद्ध पार्कको अवधारणअनुसार धमाधम काम भइरहेको उनले बताए । कानपुरमा दुईवटा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको तथा कानपुरसम्मको सडक कालोपत्रेका लागि पहल अघि बढाइएको तिमल्सिनाले बताए । उनले आगामी बर्ष रोशी र तेमाल गाउँपालिकासँग मिलेर संयुक्तरुपमा वृहत ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणासमेत गरे ।

कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डिवी लामाले रोशी गाउँपालिकाले यसपटक देखि चोक, चौतारा र घरसम्म ल्होसार पु¥याउने काम गरेको बताए । आफ्नो सांस्कृतिक पहिचान कायम राख्न, यसको संरक्षण र सम्वद्र्धन गर्न सबै तामाङ समुदाय एक हुनुपर्ने लामाले बताए । ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ भन्ने आफ्नो धारणा रहँदै आएको पनि उनले बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङले परम्परालाई संक्षण गर्न ल्होसार जस्ता पर्वले मद्दत पुग्ने बताइन् । आफ्नो भाषा र भेषभुषाको संरक्षण गर्दै नमोबुद्ध नगरभित्र पर्यटक आकर्षित गर्न विभिन्न योजनाहरु तयार पारिएको तामाङले जानकारी दिइन् ।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तामाङ भाषा र संस्कृतिको संरक्षणका लागि नमोबुद्ध नगरपालिकाले विशेष पहल अघि बढाएको बताए । तामाङ भाषामा ध्वनीसहितको नागरिक बडापत्रको व्यवस्था गरिएको जानकारी दिँदै उनले स्थानीय भाषामा पाठ्यक्रम तयार पार्ने योजनाअनुसार तामाङ भाषामा पाठ्यक्रम तयार पार्ने विषयमा छलफल भइरहेको उनले बताइ । भाषा, संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तालाई अघिल्लो पुस्ताले सिकाउन जरुरी रहेकोमा पौडेलले जोड दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाले ल्होसारको अवसरमा सरकारले विदा दिए पनि आफ्नो चाडको रुपमा अझै स्वीकार गर्न नसकेको गुनासो गरे । उनले संस्कृति संरक्षणका लागि तामाङ समुदाय नै अग्रसर हुनुपर्ने भन्दै जनगणनामा आफ्नो जातमा तामाङ नछुटाउन आग्रह गरे । कार्यक्रममा नमोबुद्ध ५ का वडाअध्यक्ष वुद्धसिं तामाङ, पत्रकार मिलन दोङ तामाङ लगायतले मन्तव्य राखेका थिए । पत्रकार छेडुप दोङ तामाङले सञ्चालन गरेको कार्यक्रम ल्होसार कार्यक्रम मुल समारोह समितिका संयोजक सिंगवहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, वडा नं.१० का वडाअध्यक्ष रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित हास्यकलाकारहरु राजु पौडेल (राजु माष्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को प्रहसनका साथै राष्ट्रियस्तरका ख्यातिप्राप्त गायक गायिका एवं स्थानीय कलाकारहरुहरुको गीत तथा नृत्यसहितको प्रस्तुतिले सहभागीहरुलाई मनोरञ्जन दिएको थियो ।


तपाईको प्रतिक्रिया