काभ्रे (धुलिखेल) – धुलिखेल नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ ।धुलिखेल नगरपालिका नेपालको छैठौँ, वागमती प्रदेशको तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसर पारेर आज नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतमले जानकारी दिए। उनका अनुसार बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको छ ।

बालमैत्री नगरपालिका बनाउनको लागि नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले पनि सहयोग गरेको थियो । नगरपालिकालाई बालमैत्री बनाउन पछिल्लो समय बालमैत्री स्थानीय शासन अन्तर्गतका ३९ सुचक मापन कार्यलाई तिव्रता दिइएको थियो ।

नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि सबै वडामा बाल मैत्री संरचना र उद्यान निर्माण गरेको छ । नगरपालिकालाई बालमैत्री बनाउन सुरु गरिएको ४ वर्षपछि मात्र सफल भइएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतमले जानकारी दिए ।


तपाईको प्रतिक्रिया