काभ्रे (धुलिखेल) – कोरोना विरुद्धको दोश्रो चरणको खोप भोलीबाट देशभर संचालन हुँदैछ । त्यस्तै काभ्रेमा पनि भोलीदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

नेपाल सरकारको निर्णय अनुसार भोली फागुन २ गते देखि ७ गते सम्म दोस्रो चरणको खोप कार्यक्रम संञ्चालन गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जस्तै जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरि दुई वटा खोप केन्द्र तोकिएको छ ।

भोली बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु,स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरुलाई खोप लागाईने छ ।

यस्तै नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यक्तिहरुलाई लक्षित गरिएको कार्यालय प्रमुख डा. झाले बताए ।

लक्षित समुहमा परेका व्यक्तिहरुले खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य ल्याउन र तोकिएको अवधी भित्र खोप लगाउन कार्यालयलेआग्रह गरेको छ । यस्तै कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियानमा काभ्रे जिल्लामा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईसकिएको छ ।


तपाईको प्रतिक्रिया