काभ्रे (तेमाल) – जिल्लाको तेमाल गाउँपालिकाले २८५७ लाङ (म्हे) ल्हो, सोनाम ल्होछारको अवसरमा आयोजना गरेको बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाले ल्होछार पर्वको अवसरमा ३ दिन सार्वजनिक बिदा दिई पोखरी नारायण स्थानमा ल्होछार कार्यक्रमको आयोजना गरी गाउँमै ल्होछार मनाउने वातावरण तयार गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा संविधान सभा सदस्य पुर्व सांसद तिर्थ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै विशिष्ठ अतिथि द्वय तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, अतिथिहरुमा गाउँपालिकाका प्रवक्ता वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नं ३ का अध्यक्ष बिष्णु बहादुर तामाङ, विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा बि एस बि ईभेन्टस्का अध्यक्ष सुनिल लामाको सभाध्यक्षता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य पुर्व सांसद तिर्थ लामाले तामाङ समुदायको महान पर्व ल्होछारको शुभकामना दिए । चाड पर्वले भातृत्व कायम रहने र एकले अर्कालाई जोडेन् माध्यम भएकाले सबै मिलेर आफ्नो परम्परा अनुसार पर्व मनाउन अनुरोध गरे । गत वर्षमा भएका कमि कम्जोरी भुलेर नयाँ वर्ष नयाँ तवरले सुरुवात होस भन्ने उनले कामना पनि गरेका थिए । प्रमुख अतिथि लामाले भौगोलीक रुपमा विकट मानिएको तेमाललाई आगामि दिनमा सम्रिद्धि तर्फ अघि लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ठ अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले ह्रीञ्जेन दोर्जेको तपोभुमिमा ल्होछार मनाउन पाउँदा खुसी लागेको बताउँदै तेमाल बासी साथै सबैलाई ल्होछारको शुभकामना दिए । उनले गाउँपालिकाले तामाङ समुदायको विशेष पर्व ल्होछार मनाउन ३ दिन सार्वजनिक विदा दिएर गाउँमै पर्व मनाउने वातावरण तयार पारेको बताए । उनले शुभकामना मन्तव्य सँगै गाउँपालिकाको विकासमा निरन्तर खटिरहेको र नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमा देखि गाउँपालिकाको भवन सम्म आईपुग्ने बाटो कालोपत्रे गर्ने काम अघि बढिसकेको बताए ।

यस्तै कार्यक्रममा विशिष्ठ अतिथि तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङले तामाङ समुदायको महान पर्व ल्हेछारको शुभकामना दिईन् । ल्होछार पर्व गाउँगाउँमा मनाउनु पर्छ भन्ने हेतुले भव्य कार्यक्रमको आयोजना गरेको बताउँदै उपाध्यक्ष तामाङले हाम्रो धर्म संस्कृती परम्परालाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिईन् ।

कार्यक्रमको अवसरमा वरिष्ठ संगितकार तथा गायक चन्द्र कुमार दोङ र २०४२ साल देखि गित संगितमा योगदान पुर्याउँदै आउनु भएका गायक तथा संगितकार चन्द्र कुमार मोक्तानलाई गाउँपालिकाले सम्मान गरेको थियो । कार्यक्रमको सुरुवातमा तामाङ परम्परा अनुसार लामा गुरुहरुले पुरानो ल्हो अर्थात पुरानो वर्ष फालेर नयाँ वर्षलाई स्वागत गरेका थिए । यस्तै स्थानिय झाँक्रिहरुले आफ्नो नृत्य पनि प्रस्तुत गरेका थिए ।


तपाईको प्रतिक्रिया