काभ्रे (धुलिखेल) – नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले एक किलो पहेंलो धातुलाई सक्कली सुन भन्दै ५५ लाख लिएर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका– ५ का ३२ वर्षीय सन्तबहादुर लामा, नुवाकोट किस्पाङ गाउँपालिका–१ का ४५ वर्षीय ऋषमान घले, सोहि स्थानका ३५ वर्षीय जित भन्ने मेख तामाङ, चन्द्र भन्ने २० वर्षीय जेरी तामाङ, २६ वर्षीय राज तामाङ र झापाको अनारमनी–१ बिर्तामोडका ५३ वर्षीय अभयकुमार चौधरी रहेको मशाशाखाका सूचना अधिकारी एवं एसपी कृष्णप्रसाद अधिकारीले जनाएका छन् ।

माघ १२ गते ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई उनीहरुले ठगी गरेका थिए । प्रहरीले उनीहरुको साथबाट ९ लाख ५० हजार नगद, २ थान मोटरसाइकल र ५ थान मोबाइल समेत बरामद गरेको छ । ठगी गरेको रकमबाट मोटरसाइकल खरिद गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

पीडितले माघ २६ गते आफू ठगिएको प्रहरीमा उजुरी गरेपछि प्रहरीले उक्त गिरोहलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको थियो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।


तपाईको प्रतिक्रिया