काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाले बृहत माटो परिक्षण कार्यक्रम सञ्चालन गरि रहेको छ । छ । कृषि उत्पादनमा बृद्धि, व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित पनौती नगरपालिकामा बृहत माटो परिक्षण शिविर सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको पहलमा माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाको प्राविधिक सहयोगमा माटो परिक्षण शिविर सञ्चालन भइरहेको कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार माटो परिक्षणका लागि पनौती नगरका वडा नम्बर ८, १० र ११ का स्थानिय कृषकहरुको सहभागिता उल्लेख्य रहेको छ । अन्य वडाहरुबाट पनि परिक्षणका लागि आउने क्रम जारी रहेको उनले बताए ।

युरिया लगायत रासायनिक मलको अत्याधिक प्रयोग र एकै वर्षमा चार वटासम्म बाली लगाउनाले माटो बिग्रन गई माटोबाट विरुवालाई प्राप्त हुने तत्वहरु नष्ट हुदै जाने माटो विज्ञहरुको भनाई छ ।‘हरेक बालि वा बिरुवाको बिउ माटोमा छरे देखि बिरुवा हुर्किइ यसले अनाज दिने बेलासम्म चाहिने सम्पुर्ण खाद्यतत्वहरू बिरुवाले माटोबाटै लिन्छ,’ प्रमुख सापकोटाले भने, ‘जसकारण पनि माटोको अवस्था बिग्रन नदिन उपयुक्त समय समयमा माटो परीक्षण गर्नु अति आवश्यक हुन्छ ।’

परिक्षण अवधिभर ६ सय भन्दा बढी माटोका नमुना परिक्षण गरिने र माटो परिक्षण शुल्क प्रति नमुना ७२.५० पैसा नगरपालिकाले नै बेहोर्ने प्रमुख सापकोटाले बताए । उनका अनुसार यस्ता कार्यक्रमहरुले युरिया मलको प्रयोग कम गर्ने, कम्पोष्ट मलको प्रयोगलाई प्रोत्साहन गर्दै कृषकलाई व्यवसायिक खेतीतर्फ अभिप्रेरित भई आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

कार्ययोजना बनाई माटो परिक्षण शिविर प्रत्येक हप्ता चलाउन नगरपालिकाले पहले गर्ने योजना प्रमुख सापकोटाले सुनाए । माटो परिक्षण गराउन खेतबारीमा बालि नभएको यो समय उपयुक्त भएकोले कृषकलाई परिक्षणमा सहभागी हुन उनले आग्रह गरे ।

 


तपाईको प्रतिक्रिया