काभ्रे (दाप्चा) – जिल्लाको नमोबुद्ध नगरपालिकाका थप दुईवटा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । आज सोमबार शिलान्यास भएसँगै वडा नं.८ र वडा नं.९ को कार्यालय भवन निर्माण सुरु भएको हो ।

यस्तै वडा नं.९ को भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रामदवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, वडा नं.१० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो । वडा नं. ८ र वडा नं.९ को कार्यालय भवन निर्माणको ठेक्का जानकी निर्माण सेवा पनौती–१० ले प्राप्त गरेको छ । उसले वडा नं. ८ का लागि भ्याटबाहेक ४३ लाख ६१ हजार १ सय ४९ रुपैयाँ र वडा नं. ९ का लागि ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

नमोबुद्ध नगरपालिकाले सबै वडामा एउटै डिजाइनका सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार यो बर्ष पाँचवटा वडा कार्यालय भवन निर्माण गर्दैछ । केही दिनअघि वडा नं १० को कार्यालय भवन शिलान्यास भएसँगै निर्माण कार्य अगाडि बढिसकेको छ । अब यो वर्ष निर्माण हुने वडा नं. २ र वडा नं. ७ को भवन निर्माणको काम अघि बढ्न बाँकी रहेको छ । यी दुबै वडा कार्यालय भवन निर्माण पनि यही महिनाभित्र सुरु गर्ने तयारी भइरहेको छ ।

यसअघि निर्माण थालिएका वडा नं। ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको काम लगभग सकिएको छ ।

 


तपाईको प्रतिक्रिया