काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाभित्रका व्यवसायीहरुलाई कर बारे सचेतना जगाउने उद्धेश्यले पनौतीमा कर सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका, पनौती उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय धुलिखेलले संयुक्त आयोजनामा कर सचेतनामूलक  कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले करको दरलाई बढाउने भन्दा पनि करको दायरालाई बढाउनुपर्ने विषयमा नगरपालिकाले सोचेर कदम चाल्ने बताइन् । आफू नगरपालिकाको राजस्व परामर्श समितिको संयोजक पनि भएकाले नगरभित्र विगतमा भन्दा व्यवसायीहरुलाई व्यवसाय दर्ता गर्ने काममा निकै सहज बनाउँदै लगेको जानकारी दिइन् ।

त्यस्तै, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले करदाता शिक्षाको कमिका कारण करदाताहरुले धेरै समस्या झेलिरहेको कारण कर सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । कर सचेतना तथा अभिमुखिकरण कार्यक्रममा करदाताहरुको विज्ञासा र गुनासोलाई सम्बोधन गर्दै आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमल बहादुर राजवलटले ठुला व्यवसायिहरुलाई कर तिर्न झन्झट नहुने र सानालाई बढी समस्या हुने गरेकोमा त्यसलाई अब सुधार गर्न कार्यालयको तर्फबाट सहजिकरणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनका अनुसार व्यवसायीहरुले लिएको प्यान प्रमाणपत्र र पसलमा नै राख्न र स्थायी लेखा नं. राख्न आग्रह गर्दै अनुमगनमा क्रममा त्यसो नगरेको पाइएमा जरिवाना लाग्नेछ । सो क्रममा जुनसुकै प्रकारका व्यवसायले आफ्नो कारोबारको हिसाब लेखित रुपमा दुरस्त राख्नै पर्नेमा उनले जोड दिए ।

व्यवसायीहरुले नगरपालिकाबाट फरक/फरक तरिकाले कर लिएको, कर कार्यालयमा सेवाग्राहीले धेरै लाईन बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने, कार्यालय जाँदा कुरा पनि राम्रोसंग नबुझाउने गरेको कारण समस्याका कारण पनि अर्को दुःख पाउने गरेको र सम्बन्धीत निकायले अनुगमन गर्दा शक्तिको खेलमा लागेर कसैलाई कम र कसैलाई बढी जरिवाना गर्ने गरेको गुनासो धेरै पाईएको भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।  कर सचेतना तथा अभिमुखिकरण कार्यक्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाभित्रका व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया