– सन्दीप के.सी.
स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिका

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो सहायक पाचन अंग हो । यो लगभग १ देखि १/५ केजीको हुन्छ । यसका काम अनेकौं हुन्छन् । यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ । यसले शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ । तर मुख्य काम भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । हामीले खाएका धेरै औषधीहरु कलेजोमा गएर मेटाबोलाइज हुन्छन् । केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ । रक्तकोषिकाहरु मरेपछि यसमा रहेका हेमोग्लोविन पहेंलो पदार्थमा परिणत हुन्छ । यसलाई ‘कन्जुकेट’ गरेर फाल्ने काम कलेजोले गर्छ ।

कुनै पनि कारणले कलेजो बिग्रिन सक्छ र कलेजोमा बिभिन्न समस्या आउन सक्छ । कुनै पनि कारणले कलेजो बिग्रिएर सुन्निने समस्या देखिएमा यसलाई ‘हेपाटाइटिस’ भनिन्छ । यो अल्पकालिन र दीर्घकालिन हुन्छ । अल्पकालिन हेपाटाइटिसमा केही दिन खाना अरुचि हुने र पेटको माथिल्लो भागमा दुख्ने हुन्छ । यो दुई–तीन हप्तामा विस्तारै सुधार हुँदै जान्छ । यसमा लक्षण चाँडो देखिन्छ र निको पनि चाँडो नै हुन्छ । तर दीर्घकालिनमा भने समान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन । कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण भने देखिन्छन् । कलेजोले कामै नगर्ने भएपछि भने जन्डीस बढ्ने, पेट सुन्निने र त्यहाँ पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् । यसलाई दीर्घकालिन हेपाटाइटिस भनिन्छ ।

दैनिक वा लामो समयसम्म अत्यधिक रक्सी सेवन गरेमा हेपाटाइटिस हुन्छ। हेपाटाइटिस धेरै प्रकारका हुन्छन। त्यस मध्य हेपाटाइटिस ‘ए’ र ‘इ’ सरुवा हुन्छन् जसलाई जण्डीस पनि भनिन्छ। यो पानीबाट सर्छ । हेपाटाइटिस ‘सी’को कुरा गर्दा यो सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताबाट सर्छ। जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने गर्दा सर्न सक्छ। त्यसैगरी हेपाटाइटिस ‘बि’ र ‘सी’ले भने लामो समय दुःख दिन्छन्। किटाणु शरीरमा रहेसम्म यसले कलेजो बिगार्ने काम गरिरहन्छ। । अल्पकालिन हेपटाइटिसमा खान मन नलाग्ने, वाकवाक लाग्ने हुन्छ। दीर्घकालिनमा यस्तो लक्षण देखिदैंन । यसमा धेरै वर्षसम्म थाहा नहुन सक्छ तर कलेजो कडा हुँदै जान्छ र कालान्तरमा क्यान्सर वा कलेजो फेल हुन सक्छ ।कलेजोमा बोसो जम्ने समस्याले कलेजोलाई बिस्तारै–बिस्तारै हानी गर्छ। यसले १५–२० वर्षमा कलेजो फेल गराउने वा क्यान्सर हुने सम्भावना बढ्छ। क्यान्सरका कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौँ स्थानमा पर्छ । ‘इन्ट्राहेपेटिक कोलांगियो कार्सिनोमा’ र ‘हेपाटोब्लास्टोमा’ गरी अन्य दुई प्रकारका क्यान्सर कलेजोमा हुन्छन् । पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन् ।

समयमै कलेजोको समस्या पहिचान र उपचार गर्न सकियो भने यसलाई जोगाउन सकिन्छ। कलेजोको समस्या भएमा रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ। राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ। सरकारले बालबालिकाहरुको लागि हेपाटाइटिस ‘बि’ को भ्याक्सिन उपलब्ध गराएको छ । कलेजोमा बोसो जमेको भए तौल घटाएर उपचार गर्नुपर्छ। बोसो जमेको भए चिल्लो कम खाने, व्यायाम गर्ने र आवश्यक परेमा औषधि सेवन गर्नु पर्दछ । डाक्टरको सल्लाह बिना औषधि कहिल्यै खानु हुँदैन र पानी सकेसम्म उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र खानाले पनि यसबाट बच्न सकिन्छ । शरीरमा अरुको रगत चढाउँदा पनि परीक्षण गरेर मात्र गर्नुपर्छ।जथाभावी औषधि खाने वा हेलचेक्र्याँइ गरेमा कलेजो सुन्निने लगायतका समस्या आउँछन् ।

कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ । हेपाटाइटीस हुँदा जथाभावी जडीबुटी औषधी खाने वा अनावश्यक रुपमा खाना बार्ने गरेमा निको हुन समय लाग्छ। कहिलेकाँही जडीबुटीले पनि कलेजो खराब गर्न सक्छ । यस्तो बेलामा खाना बार्ने होइन बरु राम्रो र पोषिलो खानुपर्छ । कलेजो बिग्रिएको बेला यसलाई चाहिने पोषण नभए झनै समस्या समाधान हुँदैन। । कयौ अवस्थामा कलेजोले काम गर्न छाडेको हुन्छ। जसको उपचार भनेको कलेजो फेर्नु हो ।


तपाईको प्रतिक्रिया