काभ्रे (धुलिखेल) – वागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । उक्त निर्णय गलत भएको वागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले बताएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

‘राज्यको ढुकुटी दुरुपयोग गर्ने त्यो पनि अविश्वासमा परेको सरकारले निर्णय गर्दा अलिकति लाज मान्नु पर्दैन ?,’ सांसद लम्साले विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन् । उनले थप लेखेका छन्, ‘के यतिबेला एनजिओलाई रकम वितरण गर्ने बेला हो र ?’ यस अवस्थामा फाउन्डेशनलाई ५० लाख रुपैयाँ अनुदान दिनु राज्यकोषको दुरुपयोग मात्र होइन, ओलीले आफ्नो शक्तिको दुरुपयोग गरेको समेत ठहर्छ । वागमती प्रदेश सरकारको उक्त निर्णय सच्याउन पनि उनले आग्रह गरेका छन् ।

वागमती प्रदेश सरकारले गरेकोे निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा थुप्रै आलोचना गरिरहेका छन् । मदन भण्डारी फाउन्डेशनको स्थापना कालदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले फाउन्डेशन मार्फत आफ्नो विचार प्रवाहको कार्य गर्दै आएको छ । साविकको एमाले हुँदा पनि ओलीले आफ्नो गुटलाई एकीकृत र एकताबद्ध बनाउन यो फाउन्डेशनको प्रयोग गर्दै आएका थिए ।


तपाईको प्रतिक्रिया