काभ्रे (फलाँटे) – मुलुकलाई समृद्ध बनाउन शान्ति सुरक्षा आवश्यक रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिका स्थित फलाँटेमा नव–निर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्दै मुलुकको विकासको लागि शान्ती सुरक्षा पहिलो प्राथमिकता रहेको मन्त्री जम्कट्टेलले बताए ।

उनका अनुसार मुलुकलाई सुशासन, समृद्धि र विकास गर्न शान्ति सुरक्षालाई प्राथमिकता दिन जरुरी रहेको छ । विकाससँगै शान्ति सुरक्षा जोडिने भन्दै त्यसका लागि प्रदेश सरकारले सुदृढ र सक्षम प्रहरी निर्माणमा जोड दिँदै आएकोमा मन्त्री जम्कट्टेलको भनाइ छ ।
बागमती पदेश सरकारको आर्थिक सहयोगमा निर्मित भवन दुई करोड ३१ लाख ७० हजार ७२२ रुपियाँमा निर्माण सम्पन्न भएको थियो । बागमती प्रदेश सरकारले एक अर्ब १३ करोड रुपैँयाँको लागतमा १० जिल्लाका ४७ प्रहरी भवन निर्माण अगाडि बढाएको थियो ।

प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेबी श्रेष्ठले फलाटे प्रहरीचौकी दुई करोड ३१ लाख ७० हजार रुपियाँमा निर्माण सम्पन्न भएको जानकारी दिइन । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य लक्ष्मण लम्साल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख बसन्तकुमार लामा लगायतले शान्ति सुरक्षाका लागि भौतिक संरचना निर्माण महत्वपूर्ण भएकाले प्रदेश सरकारको उक्त कदम उपयुक्त भएको बताए ।

बागमती प्रदेश सरकारको सहयोगमा ६ प्रहरी चौकी र दुई इलाका प्रहरी कार्यालय निमार्ण भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

 

 


तपाईको प्रतिक्रिया