काभ्रे (धुलिखेल) – जिल्लामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका २९ जना कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला, पाँचखाल नगरपालिकाबाट १ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष र बेथानचोक गाउँपालिकाबाट २ जना पुरुष गरी जिल्लामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८ सय १७ पुगेको छ । त्यस्तै जिल्लामा अहिले ३ सय २१ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका संक्रमितमध्ये २४ सय ६०जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लाका ३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया