काभ्रे (बनेपा) – पुस २ गते नेपाल पत्रकार महासंघ शाखा काभ्रेको साधारण सभा हुने भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको बुधबार सम्पन्न ३९ औ बैठकले महासंघको २८ औ स्थापना दिवसको अवसरमा पौष २ गते साधारण सभा गर्ने निर्णय गरेको छ । सभाको उद्घाटन केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले गर्नु हुने भएको छ ।

बनेपाको पञ्चकन्या बेन्क्वेटमा हुने साधारण सभामा स्वास्थ्य मापदण्ड पुरा गरिने महासंघका अध्यक्ष मोतिराम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार महासंघले साधारण सभाकै अवसरमा स्व. भरतराज पत्रकार पुरस्कार कोषबाट संचारकर्मी सम्मान गर्न पुर्व अध्यक्ष एवं सल्लाहकार भोला थापाको अध्यक्षतामा राजाराम कार्की र रमा दाहाल सदस्य रहेको समिति गठन गरेको छ ।

समितिले सम्मान गर्ने पत्रकारको नाम सिफारिस गरे पछि कार्यसमितिले अनुमोदन गर्नेछ । बैठकले साधारण सभाको तयारी, महासंघले गरेका निर्णयहरुलाई सबै सदस्यहरुका बीच पु¥याउन निर्णय पुस्तिका प्रकाशन, वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै महासंघका गतिविधि प्रकाशन तथा प्रसारण गर्ने उदेश्यले वेभ साईड निर्माण गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको सचिव नगेन्द्र अधिकारीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया