काभ्रे (बनेपा) – बनेपा भिमसेनथानकी प्रभा श्रेष्ठको दैनिकी दुई वर्ष यता सौन्दर्य क्षेत्रमा व्यस्त भएको छ । बिहानको १० बजेदेखि साँझको ६ बजेसम्म उनको दैनिकी सौन्दर्यमै बित्ने गर्छ । स्वदेश फर्किएर सिकेको सीपले नै उनी आज सौन्दर्यकर्मीको रुपमा परिचित छिन् । २ वर्ष विदेशमा काम गरेर नेपाल फर्केकी उनी स्वदेशमै सीप सिकेर राम्रो आम्दानी गर्न सकिने बताउँछिन् ।

सन् २०१४ मा प्रभा घुम्नको लागि दुबै पुगिन् । उनको श्रीमान् (मोहन कुमार श्रेष्ठ) दुबैमा थिए । त्यहाँ केही समय बिताएर नेपाल फकर्ने उनको योजना थियो । योजना अनुसार नै घुमघाम गरेर उनी नेपाल फर्कने तयारीमा रहदाँ उनलाई त्यहीँ एउटा रोजागरीको अवसर जुट्यो । त्यहाँ जागिर पाएपछि उनले भिजिट भिसालाई रेजिडेन्स भिसामा ट्रान्सफर गरिन् । संयोगले आफूलाई जागिरको अवसर जुटेको उनी बताउँछिन् ।

दुबैको एक कार्यालय (रिलाएबल कनेक्सन कम्पेनीमा) एयर टिकेटिङमा उनले काम पाइन् । ‘काम सजिलै भएपनि कामको चाँप भने थियो, उनले सनाइन्, ‘विदेशमा नेपालमा जस्तो एउटा काम गरेर नहुने रहेछ । कामको कन्ट्रयाक्ट आठ घन्टा भएपनि १० घन्टा काम गर्नुपथ्र्यो ।’ हेर्दा विदेशमा राम्रो काम छ भनेर सोचेपनि त्यहाँ काम गर्न निकै गाह्रो हुने उनको अनुभव छ ।

‘भित्र बस्दा चिसो र बाहिर ५५ डिग्रीको तालु पोल्ने गर्मी,’ उनी सम्झिन्छिन् ,‘गर्मीले तालुको पसिना पैतलासम्म पुग्थ्यो । साउदी, दुबै, कतार जस्ता खाडीमुलुकमा उसिनेको आलुझैँ गर्मी गर्नेहरुको व्यथा अलगै छ ।’ उनी गर्मी समयमा नै दुबै पुगेकी थिइन् । एक ठाउँबाट अर्को ठाउँमा जाँदा धेरैलाई वातावरण र मौसमका कारण स्वास्थ्यमा समस्या आउँछ । तर आफू यस्तो चिसो ठाउँबाट त्यस्तो गर्मी ठाउँमा पुग्दा पनि स्वास्थ्यमा केही नभएको उनले बताइन् ।

उनले ३ दिन टिकेटिङ र ३ दिन प्याकेजिङको काम गरि हप्तामा ६ दिन काम गर्थिन् । आफ्नो कस्टुमहरुलाई एयरपोर्टमा पिकअपदेखि उनीहरु नगएसम्म उनीहरुलाई ड्रपअपको काम सबै गर्नुपर्ने उनले सुनाइन् । कस्टुमरलाई खुशी पार्नु उनको मुख्य काम थियो । आफूले त्यस्तो ठाउँमा राम्रो काम पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् । उनीसँगै दुबै पुगेका अरु महिलाहरुले धेरै महिलाहरुले दुःख पाएको उनले बताइन् ।

उनको दुबैमा काम राम्रो हुदै थियो । तर त्यहाँ काम गरेको दुई वर्षमै उनी नेपाल फर्किन् । नेपाल फर्कनुको कारण उनी गर्भवती भइन् । आमा र बच्चाको दुवैको स्याहारसुसारकै लागि नेपाल आउनु उनको लागि बाध्यता नै थियो । गर्भवती भएको ७ महिनामा सन् २०१६मा प्रभा नेपाल आइन् । नेपाल फर्केर, प्रसुती भएपछिको उनको एक वर्ष छोराको स्याहार सुसारमै बित्यो ।

प्रसुतीको एक वर्षपछि उनले काम गर्ने सोच बनाइन् । त्यहीँ समयमा घरेलु उद्योगमा तथ्याङक शास्त्रमा जागीर खुलेको र आफूले पनि आवदेन हाल्दा नाम निस्केको उनले सुनाइन् । छोरालाई घरमा आमाबुबाको साथमा छोडेर उनी काममा जान थालिन् । घरमा छोराले धेरै दुःख दिएपछि उनले काम गरेको तीन चार दिनमै जाँगिर छोडिन् । त्यसपछि उनले छोराको स्याहारलाई नै पहिलो प्राथमिकतामा राखिन् ।

स्नातकोत्तरको पढाई बिचैमा छोडेर उनी दुबै पुगेकी थिइन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी उनलाई फेरि पढाईको निरन्तरता दिन मन छ । तर समय मिलाउन नसकेकाले आफूले त्यो रहर पूरा गर्न नसकेको उनले बताइन् । विदेशनुभन्दा पहिले स्कुल, बैंक लगायतका संस्थामा उनले काम गरिन् । तर आफ्नो दक्षता अनुसारको काम भने उनले कतै पाइनन् । त्यसपछि उनको यात्रा विदेशतिर मोडियो ।

आफू पढेलेखेको भएरपनि बच्चा मात्र हेरेर बसेर दैनिकी चलाउन सकिदैन भन्ने उनलाई लागेपछि केही काम गर्न उनी बाहिर निस्किन् । सबै ठाउँमा काम गरेर अनुभव बटुलेकी उनलाई नेपालमा केही नयाँ सीप सिक्ने रहर जाग्यो । उनले तीन महिने ब्युटिसियन तालिम लिइन् । हातमा सीप भएपछि उनमा पनि आत्मविश्वास बढ्न थाल्यो ।

‘तालिमपछि उनको धेरै मानिसहरुसँग चिनजान हुन थाल्यो । त्यसले उनलाई व्यवसायिक रुपमा अगाडी बढ्न हौसला बढ्यो । उनले कस्मेटिकका सामान तथा सौन्दर्यको काम सबै गर्ने गरि ब्युटिपार्लर सञ्चालनमा ल्याइन् । सीप सिक्न एकदमै राम्रो हो । हातमा सीप भएमा कहीँ कतै कामको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् ।

स्वदेश र विदेश दुई ठाउँमा रोजगारी गरेर अनुभव संगालेकी उनी भन्छिन्, ‘ नेपाल र विदेशको कामलाई समयले फरक पार्ने रहेछ । विदेशमा काम गर्ने समय सिमा निकै नै कडा छ । नेपालमा जस्तो आउँदा आउँदै ढिलो भयो भन्ने बाहना केही हुदैँन ।’ विदेशमा समय र कामको निकै महत्व हुन्छ । समयलाई चिन्न सकेमा धेरै आम्दानी गर्न सकिने उनले बताइन् ।

उनका अनुसार आफ्नो दक्षता अनुसारको नेपालमा काम छैन । यसैले गर्दा शिक्षित र दक्ष भएका नेपालीहरु विदेशएको उनले सुनाइन् । मानिसमा जे कुराको दक्षता छ, उसले त्यस क्षेत्रमा काम गर्न पाउँदैन । उनी भन्छिन्, ‘शिक्षा संकायमा एम.एड गरेको प्रिन्सिल कमै भेटिन्छन्, दुई वर्षे एम.बि.ए गरेर बैंकमा जागिर खानेहरु पनि कमै छन् । दक्षता अनुसार काम नै छैन नेपालमा ।’ नेपालमा दक्षता अनुसारको काम नपाइनु, काम पाइ होल्यो भने पनि काममा पनि निश्चित उमेर हदबन्दी लगाइनु, कामको लागि पावर चाहिने, सानो काम गर्न लाज मान्ने प्रबृतिले नै शिक्षित अशिक्षित सबै विदेशीएको उनले बताइन् ।

काम आफैमा कहिले पनि सानो ठूलो हुदैँन । ब्युटिसियनको सीप सिक्ने बेलामा धेरैले उनलाई सीप नसिक्नु भनेर आग्रह गरेका थिए । ‘तिमी त्यति धेरै पढेकीले किन यस्तो काम सिक्नु ? विदेश गएर त्यस्तो राम्रो काम गरेकीले किन यो काम गर्नु,’ उनले सुनाइन्, ‘धैरेको कुरालाई टारेर सीप सिकेरै छाडे । आफूले जति धेरै पढेको भएपनि अरुको निर्देशनमा काम गर्नुभन्दा आफैले सीप सिकेर व्यवसाय गर्नु नै उचित ठानेर ब्युटिपार्लर खोलेँ ।’

घर उनको काभ्रेको भकुण्डे । तर ब्युटीपार्लर सञ्चालनमा ल्याएदेखि उनी र उनको चार वर्षीय छोरा बनेपा (माइतमै) बस्दै आएकी छिन् । यो व्यवसाय गर्न पनि परिवारको राम्रो साथ मिलेको उनले बताइन् । ‘काम जस्तो गरेपनि तर राम्रो काम गर भनेर परिवारका सदस्यले भन्ने गर्नुहुन्छ,’ उनले भनिन् ।

उनका अनुसार कोही बुझेर त कोही नबुझी विदेश जान्छन् । नबुझी जानेहरुले दुःख पाउने हो । विदेशको बारेमा बुझेर जानेहरुले पनि दुःख त पाएकै छन् । त्यसमा भाग्यको कुराले पनि फरक पार्छ । अहिले उनको हातमा सीप छ । आफूले गरेको काममा सन्तुष्ट भएकाले पनि उनलाई अब विदेश जाने चाहाना छैन । हातमा सीप भए विदेश जानुनपर्ने उनी बताउँछिन् ।

कुनै समयमा प्राविधिक सीप भनेको कम ज्ञान भएकाहरुले मात्र गर्ने मानसिकता राखिन्थ्यो । अहिले त्यो सोचमा परिवर्तन आएको छ । उनका अनुसार अहिले एकेडेमीक भन्दा पनि तपाईको हातले कति आम्दानी गर्न सक्छ कि सक्दैन भन्ने कुराले महत्व राख्छ । अहिलेको आवश्यकता नै प्राविधि शिक्षा र सीप हो । त्यसकारण पनि उनी प्राविधिक सीप सिक्न आग्रह गर्छिन् ।

‘अहिले नारीहरु चुलौ चौकोमा मात्र सिमित छैनन् । धेरै महिलाहरु बाहिर आइसकेका छन् । उनीहरुलाई धेरै कुराको ज्ञान भइसक्यो,’ उनले भनिन् । आफ्नै लगानीमा व्यवसाय सुरु गरेकी उनी कामप्रति निकै सन्तुष्ट छिन् । ‘आफूले सिकेको सीपलाई व्यवहारमा भने उतार्नुपर्छ,’ उनले भनिन्,‘ सीपलाई प्रमाणपत्रमा मात्र सिमित राख्नुहुदैँन । सीप हुनेलाई जहाँ पनि अवसर छ । सीप हुनेहरुको भविष्य उज्जवल छ ।’

 

 


तपाईको प्रतिक्रिया