काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिका ११ स्थित बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीका दिनमा मेला लाग्ने गर्छ । तर यस वर्ष भने कोरोनाका कारण मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ ।

कोरोनाको सङक्रमण दर बढेको भन्दै पनौती नगरपालिका वडा न ११ ले मङसिर ११ गते हुने मेला स्थगीत गर्ने निर्णय गरिएको पनौती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तारामान लामाले जानकारी दिए । उनका अनुसार एक लाख भन्दा बढी भक्तजन आउने र कोरोना सङक्रमण दर बढ्ने जोखिम बढेपछि मेला स्थगन गरिएको हो । सूचना मार्फत मेलामा सहभागिता नजाउन भक्तजनलाई वडाले आग्रह गरेको छ ।

रोशी नदीको किनारमा रहेको लड्केश्वर महादेबको मन्दिरमा हरेक साल हरिबोधनी एकादशीमा पूजा अर्चना सँगै वृहत मेला लाग्ने गरेको थियो । धार्मिक किम्बदन्ती अनुसार द्धापर युगमा भगवान शिव हरिबोधनी एकादशी र माघे संक्रान्तीका दिन यस स्थानमा बास बस्ने विश्वासका साथ हरेक वर्ष पूजा अर्चना गरी मेला भर्ने गरिदै आइएको थियो ।

सामान्यतः शिव मन्दिरहरुमा सोमबार पुर्णिमामा मेला लाग्ने गरेता पनि बल्थलीमा रहेको लड्केश्वर महादेबको मन्दिरमा भने हरिबोधनी एकादशीका दिनमा मात्र ठूलो मेला लाग्ने गरेको स्थानीयहरुको भनाई छ । पर्यटकीय स्थलको सम्भवना भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा पदै आएको लड्केश्वरी मन्दिरमा पुगेर दर्शन गर्नाले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।


तपाईको प्रतिक्रिया