काभ्रे (धुलिखेल) – जिल्लामा आज ३ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका ४१ जना आज संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

काभ्रेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको उनले जानकारी दिए । मृतकमा मंसिरक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २ जना महिला र महाभारत गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे कार्यालयका प्रमुख डा.झाले जानकारी दिए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ सय ६२ पुगेको छ । हाल जिल्लामा ४ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै अहिलेसम्म काभ्रेका १९ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 


तपाईको प्रतिक्रिया