काभ्रे (बेथानचोक) –  पछिल्लो समय जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित नारायणस्थान डाँडा चर्चामा आएको छ । बेथानचोकको नारायणस्थान डाँडा जिल्लाको सबैभन्दा अग्लो भूगोल भएको त्यहाँबाट देखिने दृश्य र सूर्योदयको दृश्यावलोकन गर्नेको भिड बढेसँगै उक्त ठाउँ अहिले चर्चामा छ ।

समुन्द्री सतहबाट तीन हजार १८ मिटरको अग्लो स्थानमा रहेको सो ठाउँबाट बिहानीको सूर्योदय हेर्न सकिन्छ । त्यसकारण पनि पर्यटकहरु बिहानीको सूर्योदय हेर्न र ऐतिहासिक नारायणको दर्शन का लागि बेलुका नै उक्त स्थानमा पुग्ने गरेको पर्यटकहरु बताउँछन् । पछिल्लो समय उक्त स्थानमा काभ्रे जिल्ला लगायत उपत्यका र देशैभरिका आन्तरिक पर्यटकहरु एक रात बसेर दृश्यावलोकन गरी फर्कने गरेका छन् ।

नारायणस्थान डाँडा भौगोलिक हिसाबले निकै अग्लो स्थानमा रहेकोले सो स्थानबाट हिमालय श्रृंखलाहरुदेखि तराईका भूभाग लगायत आसपासका भौगोलिक दृश्यहरु सजिलै हेर्न सकिने भएको कारणले गर्दा पनि यहाँ पर्यटकको घुँईचो बढेको बेथानचोक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार पर्यटकको रोजाईमा परेको नारायणस्थान डाँडामा कोरोना भाईरस प्रभावका कारण बन्दाबन्दीको समयमा स्थानीय सरकारले आवतजावतमा रोक लगाउनुका साथै मन्दिर समेत बन्द गरेको अवस्थामा पछि पर्यटकहरुको धेरै अनुरोधका कारण सो क्षेत्रमा प्रवेश गर्न खुल्ला गरिएको छ ।

स्थानीय सरकारले सो क्षेत्रमा जानका लागि भौतिक विकासको पूर्वाधार निर्माणका कार्यलाई अगाडी बढाएको छ । त्यस्तै उक्त क्षेत्रमा घना जंगल रहेको र पर्यटकहरु हराउन सक्ने सम्भावना रहेकोले अब पालिकाले तल गेल्डुङबजारबाट नाम संकलन गरेर मात्रै नारायणस्थानडाँडा प्रवेशको लागि अनुमति दिने व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया