काभ्रे (नमोबुद्ध) – जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ९ का प्रेम बहादुर लामाको दैनिकी कृषिमै व्यस्त छ । बिहानदेखि साँझसम्मै तरकारी र फलफूल स्याहार गर्दैमा दिन बितेका उनलाई पत्तो नै हुदैँन । उनको पुर्खौली पेशा कृषि, जसलाई निरन्तरा दिदैँ आएका लामाले कृषिलाई थप व्यवस्थित ढंगबाट सञ्चालन गर्दै छन् ।

विगत ७ वर्षदेखि उनको दैनिकी यसैमा व्यस्त हुदैँ आएको छ । २५ रोपनीको क्षेत्रफलमा उनले व्यवसायिक रुपमा सम्बृद्धि प्रेम बाटिका कृषि फार्म सञ्चालन गर्दै आएका छन् । विभिन्न जातका फलफूल र तरकारीले उनको फार्म यतिबेला भरिभराउ भएका छन् । उनको फार्ममा यतिबेला तरकारीमा गोलभेडा, लौका, चुचे करेला, भिडे खुर्सानी, मुला, चुकन्दर, साग लगायत देख्न सकिन्छ । त्यस्तै फलफूलमा सबैजातका फलफूल पाइने र बढि मात्रामा सुन्तला पाइने सञ्चालक प्रेम बहादुर लामाले बताए । सुन्तलाको लागि यो क्षेत्र पकेट क्षेत्रको रुपमा लिएको छ । त्यसकारण पनि उक्त क्षेत्रमा बढि मात्रामा सुन्तला पाइने उनले बताए । विगत २२ वर्ष अघि आफ्ना बुबाले लगाएको सुन्तलालाई थप बिस्तार गरेर उनले सुन्तलाबाट मात्रै वार्षिक ४ लाख रुपैँया आम्दानी गर्ने गर्छन् ।

‘परिश्रम गरे, पैसा कमाउन विदेश जानुपर्दैन,’ उनले भने, ‘विदेशमा गर्ने दुःख नेपालमै गर्न सकियो भने आफ्नो परिवारसँगै बसेर यहीँ प्रशस्त धन कमाउन सकिन्छ ।’ त्यसकारण आफ्नो माटोलाई चिन्न सकेमा नेपालमा धेरै उपलब्धि गर्न सकिने उनले बताए । व्यवसायिक रुपमा फार्म सञ्चालनका लागि हालसम्म ५० लाख रुपैँया लगानी भएको सञ्चालक लामाले बताए । कृषि कर्मबाटै मासिक करिब ६० देखि ७० हजार रुपैँया आम्दानी गर्ने गरेको उनले सुनाए । उनका अनुसार फार्मलाई बिस्तार गरेसँगै ३ जनालाई रोजगारी दिएका छौँ । केही समयपछि केही श्रमिक अझै थप्ने उनले योजना बनाएका छन् ।

व्यवसायिक रुपमा फार्म सञ्चालक गर्नु अघि उनी काठमाडौँमा तरकारीको व्यापार गर्थे । व्यापार गर्ने क्रममै उनलाई फार्म सञ्चालन गर्ने सोच आयो । २०७१ सालमा उनले आफ्नो सानो जमिनबाटै व्यवसाय सुरु गरेका थिए । हाल व्यवसायलाई बिस्तार गर्दै उनले २५ रोपानी क्षेत्रफलमा तरकारी, फलफूल र पशुपालन पनि गर्दै आएका छन् । आफूले उत्पादन गरेका स्थानीय बजारसँगै काठामाडौँका विभिन्न ठाउँमा बिक्रि वितरण गर्दै आएका कृषक लामा बताउँछन् ।

‘यो व्यवसाय बाजेको पालादेखिको गर्दै आएका छौँ,’ उनले भने, ‘यसैलाई निरन्तरता दिने सोचले व्यवसायिक रुपमा सञ्चालन गर्दै आएका छौँ । आफूले सकेसम्म यसबाहेक अरु रोज्दिन ।’ छोटो समयमा नै कृषि क्षेत्रबाट सफल्ता पाएकाले गाउँमा उनी उदाहरणीय पात्र बनेका छन् ।


तपाईको प्रतिक्रिया