काभ्रे (धुलिखेल) – जिल्लामा कोरोनाका कारण ४ संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिकाकी ७६ वर्षीय महिलको उपचारको क्रममा कात्र्तिक २९ गते मृत्यु भएको थियो । त्यस्तै पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अपस्तालमा आज मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुषको पनि उपचारकै क्रममा शिर मेमोरियल अस्पतालमा आज मृत्यु भएको छ । त्यसैगरी भक्तपुर नगरपालिकाका ७३ वर्षीय पुुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको डा. झाले बताए । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

जिल्लामा आज थप ११ जनामा कोरोना संक्रमित थपिएको कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ५ जना महिला र १ जना पुरुष, धुलिखेल नगरपलिाकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट २ जना गरी ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ सय ४३ पुगेको कार्यालयको जानकारी छ ।

त्यस्तै आज जिल्लामा २० जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । अहिलेसम्म काभ्रेका १७ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ५ सय ९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया