काभ्रे (कटुन्जेबेशी) – जिल्लाको रोशी गाउँपालिकाले एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर उत्पादन प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै एक गाउँ एक अधिकृत र एक इन्जिनियर उत्पादन गर्ने नीति लिए अनुसार उक्त रकम वितरण गरिएको हो ।

एक गाउँ एक अधिकृतमा वडा न १२ का विजय मोक्तान र इन्जिनियरमा वडा न ११ का सन्तोष मैनालीलाई अध्ययनका लागि ५०/५० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले बताए । उनका अनुसार गाउँपालिकाले सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पु¥याउन उक्त योजना अगाडि सारेको थियो । गाउँपालिकाले छनौटका लागि निश्चित मापदण्ड बनाएको थियो ।

शिक्षा शाखाका प्रमुख रामबहादुर तामाङका अनुसार शाखा अधिकृतका लागि अधिकृतका लागि फारम भरेको प्रवेशपत्रको प्रतिलिपि, शाखा अधिकृतको प्रारम्भिक परीक्षा उतिर्ण गरेको नतिजाको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (सामुदायिक विद्यालयबाट एस.एल.सी.) अध्ययन गरेको हुनुपर्ने, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाबाट विपन्न सिफारिस मागिएको थियो ।

त्यस्तै एक गाउँ एक इन्जिनियर तर्फ इन्जिनियरिङ विषयमा प्रविणता पत्र उतिर्ण गरेको, सामुदायिक क्याम्पसबाट स्नातक इन्जिनियरिङ भर्ना भएको प्रमाण पत्रको प्रतिलिपि लगायतका आधारमा छनौट गरी प्रोत्साहन स्वरुप उक्त रकम वितरण गरिएको बताए ।


तपाईको प्रतिक्रिया