काभ्रे (बनेपा) – विगतका वर्षहरुको जस्तो यस वर्षको दशैँमा रौनक देखिदैँन । बजारको माहोल हेर्दा दशैँ आए जस्तो देखिदैँन । विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैंँको रौनकता बढाउने गथ्र्यो ।

सधैँको वर्षझैँ हर्ष र उल्लाहस लिएर आउने दशैँ, यस वर्ष भने डर र त्रास छाएको छ । दशैँ आएसँगै बसाइँ सरेर सहर गएकाहरु घर फर्किएपछि  गाउँघरमा खुशी फर्कन्थ्यो । दशैंँमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । तर यस वर्षको दशैँ भने फरक हुदैँछ । कोरोनाका कारण आफू बसेकै स्थानबाट दशैँ मनाउन सकरकारले निर्देशन दिएको छ । त्यसकारण पनि यस वर्षको दशैँको रौनकता हराएको छ ।

कोरोनाका कारण दशैँ खल्लो हुने बनेपा नगरपालिका वडा नं ७ की राममाया मानन्धर बताउँछिन् । ‘यस वर्ष त दशैँ , दशैँ जस्तै छैन, दशैँको माहोल नै छैन’ उनले भनिन्, ‘आफूले पहिले गरेँ जसरी न पूजा आजा गर्न पाइएको छ न त ठूलाबाट आर्शिवाद नै लिन पाइने । सबैतिर कोरोनाकै डर छ ।’ हरेक वर्षको दशैँमा खुशी हुने उनको मन, यस वर्ष भने दुःखी छ । उनलाई दशैँ खल्लो महशुस भएको छ ।

देशभर कोरोनाको संक्रमण बढ्दो छ । सर्बत्र कोरोनाको त्रास छ । यहीँ त्रासका कारण रामेछापका हरि बहादुर खड्का यस वर्ष घर फर्किएनन् । उनी आफू बसेकै स्थान बनेपामा दशैँ मनाउने तयारीमा छन् । ‘जता ततै कोरोनाको जोखिम बढि रहेको छ,’ उनले भने,‘घरमा वृद्ध बुुबाआमा हुनुहुन्छ । यस्तो महामारीको समयमा घर जाँदा उहाँहरुमा संक्रमणको जोखिम बढि हुन्छ । बाँचे अर्को वर्ष पनि दशैँ आउँछ । तर यस वर्ष जोखिम मोलेर दशैँ मनाउनु राम्रो होइन जस्तो लाग्छ ।’

कोरोना संक्रमणको जोखिमलाईमध्यनजर गर्दै सरकारले चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउनका कारण धेरैले रोजगारी गुमाउनु प¥यो । कोरोनाका कारण देशभरको अर्थतन्त्र संकटमा छ । उद्योग, कल कारखाना, व्यापार, व्यवसाय अझैपनि राम्रोसँग खुल्न सकेका छैनन् । त्यसकारण पनि रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् ।

सिन्धुपाल्चोकको सिरुबारी घर भई बनेपा बस्दै आएका रबिन्द्र थापाको लकडाउनकै कारण रोजगारी गुम्यो । रोजगारी गुमेपछि लामो समयसम्म आर्थिक समस्या झेल्दै आएका उनले भने, ‘जागिर नभएका कारण दशैको लागि पैसाको जोह गर्न सकिएन,’ उनले भने, ‘पैसा नहुदाँ त दशैँ पनि राम्रो नहुने रहेछ । तर कोरोनाका कारण होला यस वर्ष दशैँमा खासै रौनक देखिएको छैन ।’

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । बजारमा मानिसहरुको चहलपहल र भिडभाड भएपनि व्यापार भने गत वर्षको जस्तो नभएको व्यवसायीहरु बताउँछन् । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु यतिबेला फुर्सदमा छन्, पसल खालीखाली छन् । कपडा व्यवसाय गर्दै आएकी बनेपाकी मिनु श्रेष्ठलाई दशैँमा राम्रो व्यापार नहुदाँ निराश भएकी छिन् । ‘व्यापार व्यवसाय सोचेजस्तोे छैन,’ उनले भनिन्, ‘पहिलेको तुलनामा यो वर्ष आधा पनि व्यापार भएको छैन ।’


तपाईको प्रतिक्रिया