काभ्रे (पाँचखाल) – पाँचखाल नगरलाई खेलकुदको पनि नगरको रुपमा स्थापित गराउन विभिन्न कार्यक्रमको तयारी भएको प्रदेश सांसद लक्ष्मण लम्सालले बताए । खेलकुद मैदानको अभावका कारण खेलाडीहरु खेल खेल्नबाट बञ्चित हुन नपरोस् भनेर पाँचखालमा नगरस्तरीय खेलकुद मैदान निर्माणको तयारी भएको सांसद लम्सालले बताए ।

मानेस्वाँरा युवा समूहको आयोजनामा  सञ्चालन भएको बडा दशैँ फुटबल प्रतियोगिताको समापना कार्यक्रममा बोल्दै सांसद लम्सालले खेलकुदका क्षेत्रको विकासको लागि आफूले विभिन्न कार्यक्रमहरु तयार बताएका हुन् ।

जिल्लाको पाँचखाल नगरपालिका वडा नं ११ स्थित मानेश्वारामा सञ्चालन भइरहेको बडा दशैँ फुटबल प्रतियोगितालाई अझ व्यवस्थित बनाउन वडा स्तरीय खेलकुद निर्माण गर्ने आफूले योजना बनाएको सांसद लम्सालले बताए । ‘यो मैदानलाई राम्रो बनाउने सोच बनाएको छु,’ उनले भने, ‘यहाँ राम्रो खेलमैदानको आवश्यक देखेको छु । यसको लागि सहयोग गर्न तयार छु । सबै मिली यस विषयमा छलफल गरौँ ।’ त्यस्तै युवाहरुलाई खेलकुदमा अब्बल बनाउन आफूले विभिन्न कार्यक्रम तयार गर्ने सांसद लम्सालले योजना सुनाए ।

मानेस्वाँरा युवा समूहको आयोजनामा कात्र्तिक १ गतेबाट बडा दशैँ फुटबल प्रतियोगिता २०७७ सञ्चलान भइरहेको थियो । उक्त प्रतियोगितामा ल्हासो खोक युवा क्लब प्रथम भएको मानेस्वाँरा युवा समूहको अध्यक्ष नबिन लामाले बताए । उनका अनुसार प्रथम हुने उक्त क्लबलाई खसी तथा ट्रफी , मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो । त्यस्तै उक्त प्रतियोगितामा पलाञ्चोक युवा क्लब दोस्रो भएको छ । दोस्रो हुने उक्त क्लबलाई बोका तथा ट्रफी , मेडल र प्रमाण–पत्र वितरण गरिएको अध्यक्ष लामाको जानकारी छ ।

प्रतियोगिताको समापान कार्यक्रममा नेकपा जिल्ला नेता तथा सुनकोशी पाँचखाल खानेपानी आयोजनाको सचिव मनिराज गौतम, पाँचखाल नगरपालिका वडा नं ११ का वडाध्यक्ष शिवशरण लामा, वडा सदस्य हिराकाजी तामाङ, रामकाजी श्रेष्ठ, मेलमिलाप संयोजक राम बहादुर तामाङ, नेकपा नेता अच्युत सेढाई, पुरुषोत्तम आचार्य, शिवराम दाहाल लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया