काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल नगरपालिका स्थित गौखुरेश्वर सामुदायिक वन संरक्षणका लागि गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समिति सक्रिय भएको छ । समितिले वन संरक्षणका लागि वनको सरसफाई, गोडमेल, झाडी सुधार, काँटछाँट, अग्नी रेखा, रिचार्ज सेन्टर निर्माण जस्ता कार्यहरु गर्दै आएको समितिका अध्यक्ष राजराम जंगमले बताए ।

स्वच्छ वातावरणको लागि वनको संरक्षण गर्नु निकै आवश्यक रहन्छ । जसको लागि गौखुरेश्वर सामुदायिक वन उपभोक्ताले वन सरसफाई कार्यक्रम गर्दै आएको छ । यसका साथै बोट बिरुवाको गोडमेल, पुरानो वा बूढो रुखका हाँगा काट्ने, झाडी सुधार गर्ने कार्य पनि गर्दै आएको छ । विशेषत : बोट विरुवालाई उर्जा दिनको लागि विभिन्न ठाउँमा रिचार्ज सेन्टर बनाएको छ । यसले बोट विरुवामा पानी प्रवाह गर्नुको साथै लामो समयसम्म रुखहरुलाई जोगाएर राख्छ ।

रुख अर्थात वन जोगाउने काममा पछिल्लो समय यहाँका उपभोक्ता आफै अग्रसर भएको समितिका अध्यक्ष जंगमले बताए । ‘अरू काममा सबै स्थानीयलाई एकै पटक परिचालन गर्न गाह्रो हुन्छ । तर वन जोगाउने कुरामा भने त्यस्तो गाह्रो हुँदैन’, उनले भने, ‘उपभोक्तामा वनप्रति अपनत्व बढि सकेको छ । उहाँहरुमा वन हाम्रो बहुमूल्य गहना हो र यसलाई जोगाउनुपर्छ भन्ने सोचको विकास भइसकेको छ ।’ उपभोक्ता वन जोगाउने अभियानमा लागेपछि वन चोरीको घटनामा कमी आएको समितिले जनाएको छ । कहीँ कतै वनमा क्षति पु¥याउने काम गरेको पाइएमा अथवा भेटेमा उपभोक्ताले खबरदारीका साथै कावार्ही गर्ने गरेका छन् ।

वनको संरक्षण गर्दा गर्दै कहिले काहीँ वनमा आगो लाग्ने तथा डढेलो लाग्ने जस्त घटनाहरु घट्ने गर्छन् । यसको लागि वन उपभोक्ता समितिले विभिन्न ठाउँमा अग्नि रेखा तयार गरेको छ । समितिका अनुसार कुनै अकल्पनिय घटना घटेमा नियन्त्रणका उपकरण तथा औजारहरु तयारी अवस्थामा छ । यसका साथै जिल्ला प्रहरी कार्यालय, सैनिक कार्यालय जस्ता सुरक्षा निकाय यस क्षेत्रमै भएकाले पनि घटना घटेमा पनि नियन्त्रणका लागि सहज हुने समितिले जनाएको छ ।

कृषकहरुले घाँस दाउराका लागि वनको उपयोग गर्ने गर्छन् । अधिकतम मात्रामा वनका घाँस दाउरा र पातपतिङ्गर प्रयोग वन विनास हुने कुरालाई मध्यनजर गर्दै समितिले उपभोक्तालाई ग्याँस वितरण गरेको छ । उपभोक्तालाई वर्षमा एक पटक ग्याँस वितरण गर्दा कृषकहरुले दाउराको कम प्रयोग गर्ने हुदाँ वनको संरक्षण भएको अध्यक्ष जंगमले बताए । उनका अनुसार यसका साथै घाँस दाउरा र पातपतिङ्गर संकलनका लागि समितिले कृषकहरुको आवश्यकता अनुसार वर्षमा कम्तिमा ८ पटक सामाग्री संकलन अनुमति दिने गरेको छ । यस अघि वर्षको १२ पटक वन खोल्ने गरेको उनले जानकारी दिए । ‘यस क्षेत्रमा ५४ घरधुरी रहेको छ,’ उनले भने, ‘यहाँका थोरै घरधुरी मात्र दाउरबाट जिविका निवार्ह गर्नुहुन्छ । त्यहीँ भएपनि वनको संरक्षणका लागि ग्याँस वितरण गर्ने अवधारणा ल्याएका हौँ । यो अवधारणा प्रभावकारी भएको पनि पाएका छौँ ।’

वन जैविक विविधताले महत्वपूर्ण मानिन्छ । चराचुरुङ्गी र वन्यजन्तुको उपयुक्त बासस्थान रहेका यहाँको वनमा कैयौँ प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु देख्न सकिन्छ । यीनै कुराले पर्यटकलाई आकर्षण गराउँछ । धुलिखेललाई पर्यटकीय केन्द्र बनाउनको लागि यहाँको हरियाली वन र यहाँ पाइने चराचुरुङ्गी र जिवजन्तु पनि एउटा कारक तत्व रहेको छ । दुर्लभ जीवको रुपमा परिचित सालक यहाँ पाइने र यसको पनि समितिले संरक्षण गरिरहेको अध्यक्ष जंगमको जानकारी छ । उनका अनुसार यस वनमा चितुवा, सालक, मृग लगायत विभिन्न चराचुरुङ्गी पाइन्छ ।

यीनै विशेषतालाई मध्यनजर गर्दै यहाँका बोट विरुवा सहित चराचुरुङ्गीको हेर्दै अवलोकनका लागि जंगल सफारीको परिकल्पना गरिएको उनले बताए । यसका साथै यस क्षेत्रभित्र रहेको गौखुरेश्वर – दक्षिणकाली मन्दिर हुदैँ –देवी मन्दिरसम्म पर्यटन मार्ग बनाउने योजना उनले सुनाए । पर्यटनको आर्कषण केन्द्रबिन्दु बनेको यस क्षेत्रमा पर्यटकलाई आर्कषण गराउन गौखुरेश्वर मन्दिर नजिकै बोटानिकल गार्डेन तयार भइरहेको उनले जानकारी दिए । यसक साथै उक्त क्षेत्रमा रमणीय पार्क पनि तयार गर्ने समितिको योजना छ ।

 

 


तपाईको प्रतिक्रिया