काभ्रे (धुलिखेल) – आज १५ अक्टोबर, अर्थात अन्र्तराष्ट्रिय ग्रामीण महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउने गरिन्छ । महिला शक्तिकरण लगायत महिला माथि हुने हिंसाको रोकथामका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको भएपनि, उक्त कार्यक्रमले ग्रामीणका महिलालाई भने छुन सकेको छैन ।

सहर केन्द्रित हुने त्यस्ता कार्यक्रमले ग्रामीणका महिलाका समस्यालाई सम्बोधन गर्न नसकेको महिला अधिकारकर्मीहरुको दाबी छ । त्यस कारण पनि नेपालका ग्रामीण क्षेत्रका महिला बढि हिंसा हुने र पछाडी परेको विभिन्न समयमा गरिएको तथ्याङकले देखाउँछ ।

सहर र ग्रामीण भेग दुवै क्षेत्रका महिला उत्तिकै हिंसामा पर्ने गर्छन् । तर ग्रामीण क्षेत्रका हिंसाका घटना बढि बाहिर आउने गरेको महिला रक्षक संजाल काभ्रेकी अध्यक्ष उमा थपलियाले बताइन् । उनका अनुसार सहरका महिलाहरु हिंसामा परेमा न्यायका लागि उनीहरुको सम्बन्धित निकायसम्म पहुँच हुन्छ । तर ग्रामीण भेगका महिलाहरुमा भने त्यो सुविधा र पहुँच हुदैँन । उजुरी र न्यायका लागि प्रहरी र अदालतकै बाटो हेर्नुपर्ने बाध्यता भएकाले तुलानात्मक रुपमा संख्या बढि देखिएको उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रे महिला सेलबाट प्राप्त जानकारी अनुसार जिल्लामा तुलनात्मक रुपमा महिलामाथि हुने हिंसामा कमी आएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५मा २ सय ३० मुद्धा दर्ता भएकोमा १ सय १५ वटा जिल्ला प्रहरी कार्यालयबाट मिलापत्र भएको, २० वटा मुद्धा अदालत पठाइएको र ९५ वटा मुद्धा सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलको विवरणमा उल्लेख छ ।

त्यस्तै आ.व २०७५/०७६मा २ सय ३४ दर्ता भएकोमा १ सय १७ कार्यालयबाट मिलापत्र भएको, १५ वटा मुद्धा अदालत पठाइएको र ९३ वटा मुद्धा सम्पर्कमा आएको छैन । आ.व २०७६/०७७मा २ सय १६ वटा महिला हिंसा सम्बन्धि मुद्धा दर्ता भएकोमा १ सय २६ वटा मुद्धा कार्यालयबाट मिलापत्र भएको, १२ वटा मुद्धा अदालत पठाइएको र बाँकी ७८ वटा मुद्धा सम्पर्क नआएको कार्यालयबाट तथ्याङकमा उल्लेख छ ।

उल्लेखीत सङ्ख्याभन्दा बढि हिंसाहरु दैनिक रुपमा भईरहेका छन् । कतै घटना बाहिरन नदिन हिंसा माथि हिंसा भइरहेको छ भने कतै आफ्नो र परिवारको ईज्जत र भविष्यमा असर पुग्ने डरले धेरै घटना बाहिर आउन सकेका छैनन् । त्यसकारण पनि हिंसाका घटना घरभित्रै लुकेकाले तथ्याङकमा घटेको देखिन्छ ।

त्यसो त हिंसामा परेका महिलाहरुलाई आश्रय दिने संस्था महिला अल्पकालिन आश्रय स्थल (सेफ हाउस)ले पनि क्रमिक रुपमा सेवाग्राहीको संख्या घटेको बताएको छ । सेवाग्राहीको संख्यामा कमी आएको भएपनि घटनामा भने कमी नआएको सेफ हाउसकी व्यवस्थापक उर्मिला रंजितकारले बताइन् । उनका अनुसार विभिन्न कारणले घटनाहरु घरभित्रै लुकेर बसेका छन् ।

अहिले कोभिडका कारण हिंसामा परेका महिलाहरु उजुरी , न्याय र आश्रयको लागि सेवा लिन आउन सकेका छैनन् । कोभिड अघि पनि ग्रामीण क्षेत्रका महिला अािर्थक रुपमा कमजोरी हुनुको साथै न्याय बारेमा अनभिज्ञताका कारण पनि न्यायका लागि सम्बन्धित निकायसम्म पुग्न सकेका थिएनन् । त्यस्तै सहरका महिलाको कुरा गर्दा हिंसामा परेका महिलाहरु परिवारको इज्जत र आफ्नो सुरक्षाको लागि पनि घटना सार्वजनिक गर्न चाँहदैनन् । यीनै कुराले गर्दा महिलामाथि हुने हिंसा घटेको देखिएपनि वास्तविक रुपमा भने नघटेको रंजितकारले बताइन् ।

महिलामाथि भएका हिंसाको घटनाका विवरण अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/०७५मा २८, आ.व २०७५/०७६मा ३६ र आ.व २०७६/०७७मा ३५ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०७४/०७५मा १४ वटा, आ.व २०७५/०७६मा कुनै पनि घटना दर्ता नभएको र आ.व २०७६/०७७मा ४ वटा जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/०७५मा ५६ वटा, आ.व २०७५/०७६मा ४२ वटा र आ.व २०७६/०७७मा ४१ वटा आत्महत्याका घटना भए । आर्थिक वर्ष २०७४/०७५मा २५ वटा, आ.व २०७५/०७६मा २१ र आ.व २०७६/०७७मा १२ वटा बहुविवाहका घटना कार्यालयमा दर्ता भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५मा १ वटा, आ.व २०७५/०७६मा १ वटा र आ.व २०७६/०७७मा १ वटा अपहरणका घटना घटेका थिए । आर्थिक वर्ष २०७४/०७५मा ३ वटा बोक्सी आरोप, आर्थिक वर्ष २०७४/०७५मा १ वटा, आ.व २०७५/०७६मा ३ वटा र आ.व २०७६/०७७मा २ वटा बालविवाहका घटना दर्ता भएको कार्यालयको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५मा कुनै पनि घटा दर्ता नभएको, आ.व २०७५/०७६मा ८ वटा, र आ.व २०७६/०७७मा १ वटा बालयौनदुरुपयोगको मुद्धा कार्यालयमा दर्ता भएको थियो । कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५मा १ वटा , आ.व २०७५/०७६मा कुनै पनि घटना दर्ता भएको र आ.व २०७६/०७७मा १ वटा बालबिज्याई घटना दर्ता भएको थियो ।

उल्लेखित विवरणलाई तुलानात्मक रुपमा हेर्दा जिल्लामा जबरजस्ती करणी उद्योगका घटनामा कमी आएको देखिन्छ । आ.व २०७४/०७५मा १४ वटा घटना घटेका थिए भने आ.व २०७५/०७६मा घटना शून्यमा झरेको थियो । त्यस्तै आ.वमा भने ४ वटा मुद्धा दर्ता भएका थियो । त्यस्तै त्रि–वर्षीय तथ्याङकलाई तुलना गर्दा जिल्लामा आत्महत्याको घटना बढेको देखिन्छ । गएको तीन वर्षमा जिल्लामा १ सय ३९ जना महिलाले आत्महत्या गरेका छन् ।

जिल्लामा अहिला पारिवारिक बिमेल र घरायसी झैझगडाका कारण आत्महत्याका घटनाहरु बढ्दै गएको अध्यक्ष थपलियाले जानकारी दिइन् । यसका साथै बहुविवाह, जबरजस्ती करणी, कुटपिट, यातना दिने जस्ता घटनाहरु पनि क्रमिक रुपमा बढ्दै गएको उनले बताइन् । ‘महिलाहरु हिंसा सहेर बसेकाले हिंसाका घटना सार्वजनिक भएको छैन,’ उनले भनिन्, ‘कानुनका बारेमा महिलाहरु जानकार भएपनि कानुन फितलो हुनुको साथै निष्पक्ष ढंगबाट उनीहरुले न्याय पाउन सकेका छै्नन् ।’

विगतका तुलनामा महिलाहरुको स्थिती सुधारउन्मुख भएको उनले बताइन् । तर पनि महिला सशक्तिकरणका लागि उचित कार्यक्रमको व्यवस्था हुन नसकेको अध्यक्ष थपलियाको भनाइ थियो । उनका अनुसार अहिले महिला सशक्तिकरणका लागि कार्यक्रमको जिम्मेवारी र अधिकार स्थानीय तहमा गएको छ । यसका लागि स्थानीय तहले वडागत रुपमै कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ ।

‘उनीहरुलाई आर्थिक रुपमै सशक्त र अब्बल बनाउनु पर्ने हुन्छ,’ उनले भनिन्, ‘आर्थिक रुपमा सक्षम भए भने, भोलि उनीहरुमाथि केही घटना घटेमा उनीहरु आफ्नो लागि आफै लड्न सक्छन् ।’ धेरै जसो हिंसाका घटना परिवारकै सदस्यबाट हुने भएकाले हिंसा न्यूनिकरणलाई महिलालाई मात्र होइन घर परिवारका सदस्य सबैलाई एकै ठाउँमा राखेर सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले सुझाव दिइन् । यस्ता खालका कार्यक्रम स्थानीय तहले वडा स्तरीय ढंगबाट सञ्चालन गर्न उनले आग्रह गरिन् ।

बढ्दै गएको महिला हिंसा न्यूनिकरणको लागि विभिन्न संघ संस्थाहरुबाट थुप्रै कार्यक्रहरु भइरहेका छन् । तर ती कार्यक्रमहरु सम्बन्धित ठाउँ र व्यक्तिसम्म पुग्न नसकेको अधिकारकर्मीहरु बताउँछन् । हिंसा घरबाटै हुने गर्छ र यसको न्यूनिकरण पनि घरबाटै हुनुपर्ने रंजितकार बताउँछिन् ।

सहरका ठूला–ठूला होटलमा भन्दा हाम्रै गाउँ अनि टोलमा हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम र अभियानहरु सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । सबै क्षेत्रमा महिला पुरुषको समान सहभागिता र समान व्यवहारले पनि यस्ता हिंसामा कमी आउन सक्ने उनको भनाई छ । केही विशेष दिनमा मात्र महिलका समस्या र विषयको उठान हुने तर अरु समयमा कसैको चासो भएको देखिदैन । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको जनगुनासो छ ।

 


तपाईको प्रतिक्रिया