काभ्रे (धुलिखेल) – मुलुक सङ्घीयतामा गएसँगै गाउँपालिका र नगरपालिकाले आ–आफ्ना तहमा गर्नुपर्ने विकास प्रवद्र्धन, सेवा आदिको किटान भइसकेको अवस्था छ । अबका दिनमा स्थानीय निकायले गर्नुपर्ने विभिन्न विकास कार्यहरूमध्ये कृषि पनि एक हो ।

सङ्घीय संरचना लागू हुनासाथ स्थानीय तहमा पनि कृषिले स्थान पाएको छ । जसअन्र्तगत काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

जिल्लाको मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिकामा तरकारी ब्लक सञ्चालन हुने कृषि ज्ञान केन्द्र कार्यालय काभ्रेका सूचना अधिकारी थर्क जि.सीले जानकारी दिए ।  उनका अनुसार रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा मकै ब्लक सञ्चालन हुनेछ ।

यस्तै भुम्लु गाउँपालिकामा सुन्तला र बेथानचोक गाउँपालिकामा चिया ब्लक सञ्चालन हुने उनले बताए । त्यस्तै पनौती नगरपालिकामा पशुअन्र्तगत भैसीँ र चौरीदेउराली गाउँपालिकामा बाख्राको ब्लक सञ्चालन हुने सूचना अधिकारी जि.सीले जानकारी दिए ।

नेपाल सरकारले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग अनुरोध गरेको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले आर्थिक वर्ष ०७३/७४ देखि १० वर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको थियो ।

उक्त परियोजना अन्र्तगत नै साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट, व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र बृहत्तर व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम जस्ता कार्यक्रमहरु अहिले सञ्चालन हुदैँ आएका छन् ।

 


तपाईको प्रतिक्रिया