काभ्रे (धुलिखेल) – जिल्लामा आज (बुधबार) ४० जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार आजै एक जना महिला संक्रमितको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिकाकी ७५ वर्षीय महिलाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

त्यस्तै आज थपिएका संक्रमितहरुमध्ये धुलिखेल नगरपालिकाबाट १३ जना पुरुष र ८ जना महिला, पनौती नगरपालिकाबाट ४ जना पुरुष र ४ जना महिला र बनेपा नगरपालिकाबाट ७ जना पुरुष र ४ जना महिला गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख डा.झाले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ३६ पुगेको छ ।

जिल्लामा आज ९ जना संक्रमित उपचारपश्चात संक्रमणमुक्त भएका छन् । हालसम्म जिल्लाका ६ सय २९ जना संक्रमणमुक्त भएका छन् । अहिले काभ्रेमा ४ सय ९७ जना सक्रिय संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया