काभ्रे (पाँचखाल) –  जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा नगरस्तरीय खेलकुद मैदान निर्माण हुदैँ छ । उक्त खेलकुद मैदान निर्माणको लागि बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालले आज (मंगलबार) स्थलगत अनुगमन गरेका छन् ।

नगरस्तरीय खेलकुद मैदान निर्माणको लागि सांसद लम्सालको पहलमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ३० लाख बजेट बिनियोजन भएको छ । निर्माण कार्य सुरु गर्नु अघि सांसद लम्सालले निर्माण क्षेत्रको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा, यस खेलकुद मैदानले नेपालका विकास उन्मुख खेललाई पुनः निरन्तरता दिने सांसद लम्सालले बताए । उनका अनुसार जिल्लाका सम्पूर्ण खेलाडीहरुलाई यस खेलकुद मैदानले एकैठाउँमा जोड्न मद्दत गर्ने अपेक्षा लिएका छौँ । ‘अब काभ्रेलाई खेलकुदबाट पनि परिचित बनाउनेछौँ,’ उनले भने, ‘जसका लागि अहिले पाँचखालमा नगरस्तरीय खेलमैदानको तयारी हुदैँछ । यसलाई सिगोँ जिल्लाकै नमुना खेलकुद मैदान बनाउने लक्ष्य लिएका छौँ ।’ उक्त काम तिब्र गतिमा भएमा आफूले फेरि पनि सहयोग गर्ने सांसद लम्सालले प्रतिबद्धता व्यक्त गरे ।

नगरस्तरीय खेलकुद मैदान बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । विशेष गरेर खेलाडीहरुमा नयाँ जोश र जाँगर देखिएको छ । विभिन्न कारणले निर्माण कार्यले गति नसकेको उक्त खेलकुद मैदानमा अहिले सांसद लम्सालको पहलमा बजेट आएपछि निर्माण कार्य अघि बढेकोमा पाँचखाल नगरस्तर खेलकुद मैदान समितिका अध्यक्ष सुमन श्रेष्ठले खुशी हुदैँ धन्यवाद व्यक्त गरे । ‘यस कार्यमा स्थानीय तहले अहिलेसम्म कुनै सहयोग गरेको छैन,’ उनले भने, ‘सांसदको पहलमा निर्माण अघि बढेको छ । चाँडै सम्पन्न हुने अपेक्षा गरेका छौँ ।’

गत वर्षदेखि सुरु भएको खेलमैदान निर्माण कार्यले फेरि निरन्तरता पाएको स्थानीय विकास कार्यान्वयन इकाईका सब–इन्जिनियर रबिन पोखरेलले बताए । उनका अनुसार प्रदेश र स्थानीय तह दुवैको समन्वयमा यो कार्य सम्पन्न हुनेछ ।

 

 


तपाईको प्रतिक्रिया