काभ्रे (धुलिखेल) – आज अक्टोबर ११, अर्थात अन्तर्राष्ट्रिय किशोरी दिवस । हरेक वर्षको अक्टोबर ११ का दिनमा विश्वभर किशोरीको अधिकार रक्षाका लागि संयुक्त राष्ट्र संघको आहृवानमा अन्तर्राष्ट्रिय किशोरी दिवस मनाउँदै आइएको छ । तर यस वर्ष भने कोरोना भाइरसको प्रभावले गर्दा किशोरी दिवस कार्यक्रम हुन सकेन । शहरका सिमित र पहुँचमा मात्र हुने यस्ता कार्यक्रमबारेमा गाउँठाउँका किशोरीहरु बेखबर रहन्छन् । उनीहरुलाई आफ्नो अधिकार र समस्या समाधानको उपायको बारेमा केही पत्तो नै छैन ।

पछिल्लो समयमा काभ्रेमा किशोरीहरुको क्षेत्रमा देखिएको प्रमुख समस्या भनेकै बालविवाह, सामाजिक दुव्र्यवहार र भेदभाव रहेको पाइएको छ । त्यस्तै नेपालमा अपराधजन्य क्रियाकलापको सिकारमा साना बालिका तथा किशोरीहरु नै पर्ने गरेको नेपालमा भएका पछिल्लो गतिविधिहरुले देखाएको छ । अहिले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले सबैलाई धेरै सहज बनाएको छ । तर, यसैको दुरुपयोगले समाजमा यस्ता घटनाहरु मौलाउँदै गएको विभिन्न सरोकारवाला बताएका छन् । यसको प्रभावले धेरै  किशोरीले विभिन्न शारिरीक तथा मानसिक समस्या भोग्नुपरेको छ ।

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोगले गर्दा नेपालमा बालविवाहका घटना पनि बढ्दै गएको पाइएको छ । सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुसँग चाँडै प्रेम सम्बन्धमा रहने र उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ति बढ्दै गएको काभ्रेको पनौती नगरपालिकाकी उप–प्रमुख गीता बञ्जाराले जानकारी दिइन् । उनका अनुसार अहिलेका किशोरीहरुले धेरै सुविधा पाएका छन । यो खुशीको कुरा हो । तर यसको दुरुपयोगले समाजमा बालविवाह लगायत अपारधजन्य घटनामा किशोरीहरु सिकार भएका छन् । यस्ता घटनाको रोकथामका लागि नगरले वडा स्तरीय बाल सञ्जाल गठन गरेको उप–प्रमुख बञ्जाराले बताइन् । उनीहरुको हक अधिकारको संरक्षण गर्दै नगपालिकाले बालमैत्री वडा घोषणा गर्दै आएको र चाँडै बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।

त्यस्तै पछिल्लो समय जिल्लाको पाँचखाल नगरपालिकामा पनि बालविवाहको घटना बढ्दै गएको नगरपालिकाकी उप–प्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन् । उनका अनुसार यस्ता घटनालाई न्यूनिकरणका लागि नगरका सबै विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको थियो । तर अहिले कोरोनाका कारण विद्यालयमा यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेको छैन । यो समस्या रोशी गाउँपालिकामा उस्तै रहेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले बताइन् ।

‘सामाजिक सञ्जालमा प्रेम सम्बन्धमा रहने र परिवारको सरसल्लाह बिना उमेर नपुगी भागी विवाह गर्नेको संख्या बढेको छ,’ उनले भनिन्, ‘उमेर नपुगी विवाह गर्नु भनेको गैरकानुनी कार्य हो भन्ने कुरा किशोर–किशोरीलाई ज्ञान छ । तर उनीहरुलाई उचित परामर्श नमिल्दा, उमेर नपुगी विवाह गर्छन् ।’ यो समस्या समाधानका लागि गाउँपालिकाका किशोरी र अभिभावकमा सचेतना कार्यक्रम गर्दै आएका उनले बताइन् ।

जिल्लाका अधिकांश स्थानीय तहमा बालविवाहको घटना बढ्दै गएको बताइरहदा जिल्लाको मण्डनदेउपुर नगरपालिकामा भने पछिल्लो समय बालविवाहको घटना घटेको नगरपालिकाकी उप–प्रमुख निर्मला शाहीले बताइन् । नगरका १२ वटै वडाका बाल सञ्जालले सञ्चालन गरेका विभिन्न सचेतनामूलक कार्यक्रमले यस्ता घटना घटेको उनले जानकारी दिइन् । विशेष गरेर किशोरीहरुलाई उनीहरुको कर्तव्य र अधिकारका विषयमा नगरले विभिन्न समयमा गर्दै आएको कार्यक्रमले पनि बालविवाहको संख्या घटेको उनको भनाइ थियो ।

नेपालले बालविवाहलाई २०२० सालमै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले पनि बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरेको छ ।

समाजमा हुने सामाजिक दुव्र्यवाहर र भेदभावका कारण पनि किशोरीहरु अगाडी बढ्न नसकेको किशोरी अभियान्ताहरुले बताएका छन् । जसको सुरुवात घरपरिवारबाटै हुने गर्छ । घरपरिवारमा किशोरीलाई गाली गर्ने र नियन्त्रण गर्ने कामले सानै उमेरदेखि मनोवैज्ञानिक असर पु¥याउने रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले बताइन् । उनका अनुसार गाउँपालिकाका अधिकांश किशोरीहरुको समस्या नै छोरा र छोरीमा विभेद देखिएको छ ।

किशोरको तुलनामा किशोरीलाई घरायसी कामको बोझ हुन्छ । ‘सँगै खेल्ने दाजुभाइले भन्दा आफूले बढी काम गर्नुपर्ने नियतिले सानै उमेरदेखि किशोरीमा नकारात्मक असर पारेको हुन्छ,’ उनले भनिन्, ‘ छोरा र छोरीमा अझै विभेद छ । छोरालाई बोर्डिङ र छोरीलाई सरकारी स्कूलमा पढाउने अभिभावक अझै पनि धेरै छन् ।’

सामान्यतया ९ देखि ११ वर्ष उमेरमा किशोरीहरुको रजस्वला हुने समय हुन्छ । रजस्वला हुने समयमा त भन् किशोरीहरुले ठूलो समस्या भोग्ने गरेका छन् । यो समयमा माया र स्याहार चाहिने ठाउँमा उनीहरुले दुव्र्यहार भोग्नुपरेको हुन्छ । अझ विशेष गरेर विद्यालयमा पढाई भइरहकै बेलमा रजस्वलामा भएमा किशोरीहरु पढाइ बिचमै छाडेर घर जानुपर्ने बाध्यता अझै पनि छ । यस्तो बेला सही शिक्षा र आवश्यक मार्गनिर्देशन नपाउँदा किशोरीले शारिरीक तथा मानसिक समस्या झेल्नुपर्छ ।

किशोरीहरुको यस्तो समस्यालाई मध्यनजर गर्दै पनौती नगरपालिकाले प्रत्येक विद्यालयमा प्याड वितरण गरेको नगरपालिकाकी उप–प्रमुख गीता बञ्जाराले बताइन् । उनका अनुसार यस्तो समस्याले गर्दा किशोरीहरुको पढाई छुट्ने र उनीहरु पछि पर्ने भएकाले विद्यालयका शिक्षिकाहरुकै समन्वयमा किशोरीहरुलाई प्याड वितरण गर्ने गरिएको छ । ‘कुनै पनि किशोरी महिनावारीका कारणले गर्दा पढाई छुटाउनु परेको छैन,’ उनले भनिन्, ‘ नगरका सबै वडामा बाल सञ्जाल गठन गरिएको छ । आफ्ना समस्या राख्ने र समस्या समाधानका लागि सरोकारवालालाई झक्झाउने काम पनि उनीहरु आफैले गर्दै आएका छन् ।’

त्यस्तै रोशी गाउँपालिका र मण्नदेउपुर नगरपालिकाले पनि किशोरीलाई प्याड वितरणका लागि विद्यालयसँग समन्वय गरेको बताइएको छ । पाँचखाल नगरपालिकाले भने किशोरीलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गर्नुको साथै उनीहरुलाई प्याड बनाउने तालिममा पनि दिने योजना बनाएको उप–प्रमुख लक्ष्मी दनुवारले बताइन् ।

किशोरीको आत्म रक्षाका लागि कराँते तालिम
उनका अनुसार किशोरीहरुको नेत्तृत्व विकासका लागि भनेर पाँचखाल नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । पछिल्लो समयमा देशमा अपराधजन्य घटनाहरु बढ्दै गएकाले किशोरीहरुको आत्म रक्षाका लागि कराँतेमा सहभागी गराउने योजना बनाएको नगरपालिकाकी उप–प्रमुख लक्ष्मी दनुवारले बताइन् । ‘आफूमाथि हुने दुव्र्यवहारको प्रतिकार गर्न करातेँ खेल निकै राम्रो हुने देखिन्छ,’ उनले भनिन्, ‘यस्ता खेलमा किशोरीलाई सहभागी गराउन सकेँमा उनीहरुले आफूलाई सुरक्षित महशुस गर्ने थिए । त्यहीँ भएर यो कार्यक्रम वडा स्तरीय नै गर्ने योजना बनाएका छौँ ।’ नगरमा अहिले पनि करातेँमा किशोरीहरुको सहभागी बढ्दै गएको छ । ब्ल्याक बेल्टका किशोरीहरु पनि धेरै रहेको नगरपालिकाले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया