काठमाडौं – नेपालीहरुको महान चडपर्व दशैं, तिहारको आगमनसँगै यात्रुहरु बाहिरिनेक्रम शुरुहुन लागेका बेला यातायात व्यवसायीहरु अग्रिम टिकट खुलाउनेबारे आनाकानी गरिरहेका छन् । यात्रु अभावमा रित्तो सवारी चलाउँदा खर्च समेत नउठ्ने भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

दशैं, तिहारको आगमनसँगै मानिसको चहलपहल र भीडभाड हुने उपत्यकाका बसपार्कहरु यसवर्ष भने कोरोना संक्रमणका कारण सुनसान जस्तै बनेकोे छ । अग्रिम टिकट बुकिङ खुल्ने र नखुल्ने अन्योलताका कारण पनि बसपार्क क्षेत्रमा चहलपहल बढ्न नसकेको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैंका लागि अग्रिम टिकट खुलाउनेबारे सरकारसँग छलफल गरेर मात्र निर्णय लिइने बताउनुभएको छ । यात्रु अभावमा रित्तो सवारी चलाउँदा खर्च समेत नउठ्ने भन्दै यातायात व्यवसायी दशैंका समयमा अग्रिम टिकट खुलाउन इच्छुक नदेखिएका हुन् ।

गत चैत ११ गतेदेखि सरकारले जारी गरेको बन्दाबन्दीको बीच अधिकांश मानिसहरु गाउँ गएका छन् । कोरोनाको त्रास यथावत रहँदा सार्वजनिक सवारीमा यात्रा गर्ने सहज वातावरण बन्न नसक्दा पनि यसवर्ष घर जाने यात्रुहरुको चाप कम देखिएको हो ।

सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कोरोनाका कारण सरकारले भौतिक दूरी कायम गरेर मात्र सार्वजनिक सवारीमा आधा यात्रु राख्न निर्देशन दिएसँगै यातायातको टिकट खर्च महंगो बनेको छ । व्यवसायीले पूर्ण क्षमतामा यात्रु राख्न पाउनुपर्ने माग गर्दै सरकारसँग लबिङ गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया