नेपाल आइडल तेस्रो संस्करणमा यसपटक सज्जा चौलागाईं विजेता भइन् । नेपाल आइडलले महिला विजेता पाउन तेस्रो संस्करणसम्म कुर्नुप-यो । यसरी सज्जा विजेता हुँदा पहिलो संस्करणकी प्रमिला राई निकै खुसी छन् । प्रमिलाको नेपाल आइडल बन्ने ठूलो सपना थियो । त्यतिबेला बैंकर रहेकी प्रमिलाले नेपाल आइडलको यात्रामा आफूलाई उत्कृष्ट सातसम्म पु-याइन् । त्यसपछि उनको यात्रा सकियो ।

‘पहिलो र दोस्रो संस्करणमा हामी नारीहरू उत्कृष्ट पाँचबाटै बाहिरिनुपर्दा सायद नारी नेपाल आइडल बन्न सक्दैनन् कि जस्तो लागेको थियो । तर, यसपटक सज्जाले नेपाल आइडलको उपाधि जित्दै हामीमा हौसला बढाएकी छन्,’ गायिका प्रमिलाले सोमबार राजधानीसँग गफिने क्रममा भनिन् ।

यी गायिकाले आफ्नो नयाँ गीत रूप मेरो… को भिडियो तीन दिनअघि मात्र सार्वजनिक गरेकी छन् । यो गीतको प्रचारका क्रममा राजधानीसँग भेटिएकी उनले यसपटकको गीतमा आफ्नो सौन्दर्यको प्रशंसा गरेको बताइन् । हरेक नारीमा आफ्नै प्रकारको सुन्दरता हुने भएकाले सबैका लागि मिल्ने गीत आफूले बनाएको बताइन् । दर्शकले रुचाइरहेको यो गीतमा गायक प्रताप दाससँग उनी आफैंले मोडलिङ गरेकी छन् । गीतको भिडियो उनले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन् ।
पाँचथर सिदिनकी प्रमिलाले स्कुले जीवनदेखि नै गायन यात्रा थालेकी थिइन् । कलेजका दिनहरूमा उत्कृष्ट गीत गाएर प्रशंसा बटुलेकी उनले पाँच वर्षअघि अभया सुब्बाको ‘निर्भयाज उमन इन कन्सर्ट’मा आफूलाई प्रतिस्पर्धीको रूपमा उतारिन्, ‘नारी सशक्तीकरणसम्बन्धी सो गायन प्रतियोगितामा म फाइनलसम्म पुगें । उत्कृष्ट हुन नसके पनि गायनमा लाग्न प्रेरणा मिल्यो र स्टेज प्रस्तुति गर्न सक्ने भएँ ।’

त्यसपछि उनी नेपाल आइडलको पहिलो शृंखलामा सहभागी भएकी रहिछन् । त्यतिबेला लक्ष्मी बैंकमा कार्यरत उनले बैंकमै काम गरेर नेपाल आइडलको उत्कृष्ट सातसम्म आफूलाई प्रस्तुत गर्न सफल भइन् । नेपाल आइडलपछि भने उनको गायन यात्रा निरन्तर अघि बढेको छ ।

गायनमा आफूलाई बैंकबाटै प्रेरणा मिलेको जनाउँदै उनले भनिन्, ‘लक्ष्मी बैंकमा अग्रज दाइहरूको एउटा ब्यान्ड थियो । बैंकको विभिन्न कार्यक्रमसहित वार्षिकोत्सवमा गाउने काम गरिन्थ्यो ।’ यसरी नै बैंकबाटै आफ्नो गायन यात्रा अघि बढेको उनले बताइन् । नेपाल आइडलपछि विभिन्न देशमा कन्सर्ट गरिसकेकी यी गायिकाले त्यसपछि भने बैंकलाई समय दिन सकेकी छैनन् । आगामी दिनमा बैंकमा जोडिने चाहना उनले व्यक्त गरिन् ।

उनी नेपाली, जापानिज, कोरियनलगायत विभिन्न भाषाभाषीका गीत पनि गाउँछिन् । केही वर्षअघि सांस्कृति संस्थान र नेपाल जापान सोसाइटीले आयोजना गरेको जापानिज गायन काराउके प्रतियोगिता उनी उत्कृष्ट भइन् । त्यसपछि आफूमा गायन क्षमता छ भन्ने उनलाई लागेको रहेछ । नेपाल आइडलमा सहभागी हुनुको प्रेरणा त्यो कार्यक्रम पनि रहेछ ।

यी गायिकाले नेपाल आइडलबाट आफू बाहिरिएपछि आफ्नो कान्छा हो…, गीत हिट भयो । जाऊँ न मेरो गाउँ…, सोल्टीज्यू…, फूलको डालीमा…, लुकेको कुरा…, एउटै आकाशमुनि…,जस्ता गीत उनले बजारमा ल्याइसकेकी छन् । अहिलेसम्म गायनसम्बन्धी कुनै पनि प्रशिक्षण नलिई यहाँसम्मको यात्रा तय गरेकी प्रमिला चाँडै नै गायन प्रशिक्षण लिने पक्षमा छिन् । आफूलाई अझै परिमार्जित गर्दै गायन यात्रालाई अघि बढाउने योजना उनले सुनाइन् ।


तपाईको प्रतिक्रिया