✍ बबिता कार्की

जब उज्यालोले छाडी अँधेरी छाउँछ
तब, रातलाई साथ दिन जुन आउँछ
म रातभन्दा पनि एक्ली छु,
रातसँग त जुन छ,
असङ्ख्य ताराहरू छन्
मसँग छ त केवल
केही थान तिम्रा यादहरू
अनि एक्लोपन

हरेक रात म कौसीमा निस्किएर
प्रतीक्षा गर्छु
सायद,
तिमीलाई नै माग्छु थाहा पाएर होला
ताराहरू पनि झर्दैनन् आजकल
मेरो अँध्यारो जिन्दगीमा उज्यालो
छाउँने पो हो कि भनेर होला
जुनकिरीहरू पनि रोशनी छर्दैनन् आजकल
कोसिस गर्छु,
एक्लै खुसी हुने ….!
कोसिस गर्छु,
एक्लै खुसी हुने..!!
तर,
भगवान् पनि,
मसँग रिसाएछन् क्यारे,
मेरो झोलीमा खुसी भर्दैनन् आजकल

बेलाबेला,
हामीले साथ हिन्न कल्पना गरेका
बाटोहरू नियाल्ने गर्छु
जहाँ, मलाई छाडेर
धेरै अघि बढिसकेका तिम्रा ती
पाइलाहरुको डाम मात्रै पाउँछु
फेरि, तिमी खुसी छौ सोचेर
यो मनलाई सम्झाउँछु

कुनै दिन तिमी,
त्यहीँ बाटो फर्कियौ भने,
तिम्रो जीवनको थोरै रोशनी बालेर
गल्लीको त्यो अँध्यारो कुनामा
चिहाउनु
तिमीले त्यहाँ,
आफूलाई एक्लो भेट्ने छौँ
तिम्रा लागि बेपरवाह धड्किरहेको
दिलभित्र ।

 


तपाईको प्रतिक्रिया