डा. भेषराज अधिकारी

शुरता, सौर्यता र संयमताका निम्ति प्रतिष्पर्धा गराइ वरवधुको अटल जोडी बाँधेर जीवन फुलाउने हो– जनक सभ्यता । असल सामाजिक साँस्कृतिक परम्पराहरूको धरोहरका आधारमा राज्यहरूबीच भाइचारा, मित्रता र सद्भाव विस्तारित एवं सुदृढ तुल्याउने हो– विदेह सभ्यता । हजारौँ वर्ष अघिको मध्ययुगीन सामन्ती समाजमा हुर्के बढेको तिलक, दाइजो र बोक्सि प्रथाका कुहिगन्धे परम्परालाई खुलेआम चुनौती दिने चैतन्य परम्परा हो– जनकनन्दीनी पल्लवित जानकी सभ्यता । बाल ऋषिमुनी अष्टावत्र र शास्त्रार्थका जिज्ञासु राजा जनकद्वारा पोषित ज्ञानको मन्दिर हो– जनकपुर सभ्यता । आमाको गर्भदेखि नै कसैको कमजोरीमा औँलो ठड्याउन सक्ने, शारीरिक अवस्थालाई भन्दा विचारलाई उँचो स्थान दिएर ‘श्राप’ प्रति गहिरो सहनशीलता सँगाल्न सक्ने संस्कृतिको अर्को रूप हो– अष्टावक्र विचरित विद्या र ज्ञानको अजश्र स्रोत हाम्रो समृद्ध सभ्यता ।

ऋषि वशिष्टद्वारा ‘श्रापित’ सुर्यवंशी राजा नीमि सन्तान बिहिन बनेकाले उनको निधन पछि राजवंशलाई निरन्तरता दिन राजाको मृत शरीर यज्ञद्वारा मथेर जन्मेका मिथिको नामबाट नै यस भूमिको नाम मिथिला रहेको वर्णन अनेकौँ पौराणिक ग्रन्थहरूमा पाइन्छ । ऐतिहासिक महत्व बोकेको यस पवित्र धर्तीमा फुले फलेका साँस्कृतिक तथा पुरातात्विक मूर्त अमूर्त सम्पदाहरूको जगेर्ना गर्दै भावि पुस्तालाई हस्तान्तरण गर्नु पर्दछ । हजारौँ दार्शनिकहरूलाई एउटै थलोमा जम्मा गराएर ज्ञानको खोजी गर्ने राजा जनकको प्राज्ञिक विमर्शबाट अभिप्रेरित हुँदै चेतना र जागरण प्रवाह गर्न अग्रसर हुनु पर्दछ ।

माता सुजाताको गर्भमा रहेकै बेला एकदिन पिता कहोलाले वैदिक मन्त्र उच्चारण गर्दा हरेक मन्त्रमा आठवटा त्रुटी गरेकाले औँल्याएपछि पिताको ‘श्राप’ लागेर जन्मिदा शरीरको आठ ठाउँ खुट्टा, घुँडा, हात, छाती, टाउकोजस्ता अङ्गहरू बाङ्गिएका व्यक्ति पछि अष्टावक्र ऋषिका नामले प्रख्यात भए र पूर्वीय सभ्यताले ‘अष्टावक्र गीता’ जस्तो उत्कृष्ट साहित्य प्राप्त गर्यो । अहिले यहाँ यस पंक्तिकारको उद्देश्य अष्टावक्र गीतामा व्यक्त आत्मज्ञान प्राप्तिको बाटो बारेका मतको पक्ष र विपक्षमा विमर्श गर्नु होइन बरु शिक्षा हासिल गर्न प्राचीनकालदेखि नै लालायित हाम्रो समाज, ‘श्राप’ र ‘आशिर्वाद’ को चक्रमा फसेको यहाँको मनोदशाजस्ता विषयमा संक्षिप्तमा चर्चा गर्नु मात्र हो ।

श्रीकृष्णको उपदेशले गीता दियो र सँगै पाण्डव र कौरवलाई राज्यका लागि लड्न उत्प्रेरित गरेर महाभारतको युद्ध अनिवार्य गरायो । अष्टावक्रको वाणीले भोगैश्वर्यमा रहेका राजालाई घोडाबाट ओराल्यो र जङ्गलको बीचमा रहेको ऋषिको आश्रममा थप ज्ञान प्राप्तिका लागि डो¥यायो । गीताले कर्म र फलका बारेमा विषद् व्याख्या दिएकोमा दुईमत छैन तर त्यसले युद्ध पनि निम्त्यायो तर अष्टावक्र गीताले एक राजालाई विकलाङ्ग तर ज्ञानी बालकले ज्ञान के हो र ज्ञानको शक्ति के हो भन्ने बारेमा दिव्य उपदेश दिएको वर्णन गर्दै शास्त्रार्थमा उँच र निच, विकलाङ्ग र सवलाङ्ग हुँदैन भन्ने युगीन पाठ पढायो । ‘बादे बादे जायते तत्ववोधः’ अर्थात् तर्क गर्दै जाँदा तत्वको ज्ञान स्वतः हुँदै जान्छ भन्ने मान्यतालाई आत्मसात गर्दै शास्त्रार्थबाटै सत्यको बाटो पहिल्याउन सकिने विश्वास जागृत गरायो । शान्तिपूर्ण वहस र विमर्शबाट समृद्धिको यात्रामा अघि बढ्न मार्गदर्शन गर्यो ।

नेपालको पवित्र आँगन ऐतिहासिक साँस्कृतिक नगरी जनकपुरका नरेश जनक र मुनी अष्टावक्रको त्यो कालजयी संवादको महत्ता र गरिमालाई नेपाली समाजसहित आधुनिक सभ्यताले सहर्ष स्वीकार गर्नुको विकल्प छैन । पूर्वीय सभ्यताको यस अभूतपूर्व संवादले सुख र शान्ति प्राप्तिका लागि शास्त्रार्थले मद्दत पु¥याउँछ भन्ने गहिरो सन्देशलाई सबैले ग्रहण गर्नुपर्दछ । विद्वान ओसोले संसारमा धेरै साहित्य छन् तर अष्टाबक्र गीतासँग तुलना गर्न मिल्ने अरु कुनै ग्रन्थ नै छैन भन्छन् र यसलाई अष्टावक्र महागीताको उपमा दिँदै बुद्धि, शिक्षा, ज्ञानका लागि अष्टाबक्रले क्रान्ति नै ल्याएको ठान्छन् ।

मानव सभ्यताको शुरुआतमै आशिर्वाद र श्रापको अवधारणा पक्कै विकसित भएको होइन । मानिसले प्रकृतिसँग जीवन मरणको लडाइँ लडिरहेको थियो र सिङ्गो मानव जाति एकअर्काप्रति यति समीप थियो कि त्यसो नगर्ने हो भने मानिसको चोला नै समाप्त हुन्थ्यो । आफू विरुद्ध आइलाग्ने जीवजन्तु तथा प्राकृतिक प्रकोपको नियम नबुझेर बाढि, पहिरो, हावाहुरी, भूकम्पजस्ता प्राकृतिक विपत्तिले पुर्याएको विनासप्रति रिस र राग हुन्थ्यो तर मानिसमा एकले अर्काको कुभलो चिताउने फुर्सद पनि थिएन र त्यो आवश्यक पनि पर्दैनथ्यो बरु जीवनरक्षाका लागि सहकार्य र निकटता नै एकमात्र बाटो थियो । आदिम युगमा मानिसले मानिसको कुभलो चिताउँदैनथ्यो बरु शुभेच्छा नै प्रकट गर्दथ्यो । म, मेरोको भावना विकसित भएपछि भने अर्काको अहित चिताउन थालियो । अनि शुरु भयो– आर्शिवाद र श्रापको श्रृंखला ।

श्रापसँग नकारात्मक र आशिर्वादसँग सकारात्मक शक्ति हुन्छ त ? कि विचार र कार्यका बिचमा संयोग मिलेर परिणाम आएको हो ? झिँगाको श्रापले डिँगो मर्दैन, सतीको श्राप परेकाले होला उन्नति नभएको भन्ने जस्ता उक्तिहरू नेपाली समाजमा व्याप्त छन् । कसको ‘श्राप’ले कुन सजीव पदार्थ मर्छ त ? ‘श्राप’ले धब्बा लगाउँछ वा हानी पु¥याउँछ वा दण्डीत गर्छ त ? ‘ज्ञानी’ले ? ‘ईश्वर’ले ? हो, कसैको अवचेतन मन वा भनौँ आस्तिक व्यक्तिको चेतनामा भने ‘ईश्वर’ वा ‘ईश्वरको दूत’ वा  ‘ईश्वरको आत्मा बसेको’ व्यक्तिको ‘श्राप’ले शक्ति क्षय, पद विस्थापन, सम्पत्तिमा हानि, पारिवारिक कष्ट, विलाप र ‘आर्शिवाद’ले  उन्नति, प्रगति र फलिफाप हुन्छ भन्ने कुरा बुझ्न त्यति गाह्रो पर्दैन ।

हिन्दु धर्मशास्त्रमा श्राप भनेको ‘ईश्वरको योजना अन्तर्गत’ हुन्छ । रामायणमा ६२ र महाभारतमा लगभग १५० प्रकारका श्रापहरूको चर्चा गरिएको छ । पुराणलगायत हिन्दू धर्मग्रन्थमा अरु धेरै श्रापको चर्चा गरिएको छ भने श्राप, प्रतिश्राप र यसका परिणामहरूको पनि व्याख्या गरिएको छ । हुनतः श्रापको व्यवस्था धार्मिक पथमा विचलन आउन नदिन, सामाजिक तथा नैतिक मूल्यमान्यता र नियमहरू कायम गराउन सुरु गरिएको हो भनिन्छ । समाजलाई नियम अनुकूल हिँडाउन नै यो प्रक्रिया अवलम्बन गर्न थालियो भन्ने मत पनि सशक्त नै छ ।

‘श्राप’ का कारणले उन्नति प्रगति भएका प्रमाणहरू पनि छन् । विना कारण निन्दित वा आरोपित हुनु पर्दा पौरख गर्ने प्रेरणा मिलेको पनि देखिन्छ । ‘श्राप’ पाएपछि जीवन संघर्षलाई नयाँ ढंगले बदल्न नयाँ पद्धति अँगाल्ने र आत्मविश्वास बढाउने गरिन्छ जसले गर्दा प्रगति हुने अवस्था आउँछ भनेर विद्वानहरुले भन्ने गरेको पाइन्छ । एउटा कुरा चाहिँ निश्चित रूपमा भन्न सकिन्छ कि कसैको कुभलो चिताएर व्यक्त गरिने शब्द र प्रगतिका लागि दिइने शुभेच्छाले ‘श्रापित’ व्यक्तिमा रहेको चेतना स्तर र मनोदशाको अवस्थाजस्ता कुराले सकारात्मक वा नकारात्मक परिणाम ल्याउन सक्छ । मनोविज्ञहरूले यस्तो धारणा व्यक्त गर्ने गरेका पनि छन् । यस विषयमा ‘विचार विज्ञान’ नामक प्रसिद्ध ग्रन्थका लेखक विद्वान खप्तड स्वामीले विषद विश्लेषण गरेको पाइन्छ ।

वैदिक कालका ऋषि अष्टाबक्र गर्भाअवस्थादेखि नै ज्ञानी थिए भन्ने प्रसंग पौराणिक कथा र इतिहासहरूमा प्रशस्त पाइन्छ । गर्भावस्थादेखि नै मानिसमा चेतनाको शुरुवात हुने भएकाले नै होला जापानमा गर्भावस्थादेखि नै मानिसको उमेर गणना गर्ने गरिन्छ । अष्टावक्रको गुरुकुलमा राजा जनक दिक्षित भएपछि राजपाठ छाड्ने मनस्थितिमा पुगेका बेला अष्टावक्रले त्यस्तो गर्नु हुँदैन बरु प्राप्त ज्ञानलाई नागरिकको इच्छा बमोजिम लोककल्याणकारी कार्य गर्दै राज्य संचालनमा संलग्न हुन अष्टावक्रले उपदेश दिए र नरेशले त्यसलाई पालना गरेको प्रसंग इतिहासमा पाइन्छ ।

विदेह राजा जनकको राज्यमा न दण्ड थियो, न प्रजाहरूलाई दण्ड नै दिइन्थ्यो । त्यसैले त्यहाँ ‘न दण्डो न त दण्डितः’ को अवस्था थियो । त्यो एक आदर्शयुक्त शासन व्यवस्था थियो । अष्टावक्रद्वारा दीक्षित राजा जनकसँग बचेकुचेको घमण्ड र अहंकारलाई त्यागेर समाजकल्याणमा नै आफ्नो शक्ति लगाएकाले उनी अमर बनेका हुन् । ‘श्राप’ दिनु अर्थात् कसैको शरीरको विकलाङ्गता र सामाजिक धब्बाका निम्ति शब्दवाण प्रहार गर्नु उपयुक्त हुँदै होइन । अष्टावक्र प्रवद्र्धित संवादको सन्देश भनेको विमर्शद्वारा मानिस मानिसबिच दुरी घटाएर सद्भाव, मित्रता र एकता सुदृढ तुल्याउनु नै हो । यस अमर सन्देशलाई सर्वत्र फैलाउँदा नै शान्ति र समृद्धि हासिल हुनेछ ।


तपाईको प्रतिक्रिया