– प्रा.डा. ऋषिराम शर्मा

कोरोना कहर,लकडाउनका वैश्विक महामारीका समयममा पटक्कै नमिल्ने र लज्जास्पद रूपमा मिसिन आइपुगेको एउटा कुरुप राजनीतिक डिस्कोर्सको सुन्दर आवरणमा आत्मालोचनाका साथ विराम हुने भएको छ । यद्यपि यो अल्पविराम हो या पूर्णविराम समयले नै बताउला तर कम्तीमा आगामी स्थानीय चुनाव, आमचुनाव र महाधिवेशनसम्म यस्ता कहालीलाग्दा, घिनलाग्दा र भद्दामजाकयुक्त नाटकका पर्दा नखुले हुन्थ्यो र पूर्णविराम भै दिए हुन्थ्यो भन्ने कामना गर्न बाहेक के पो गर्न सकिन्छ र !

मुलुकमा मञ्चन भैरहेको र आम जनता र मतदाताको निदै हराम गर्ने  खालकको पूर्णाङ्की नाटकका (किस्ताबन्दीमा मञ्चन भैरहेका अनेकौँ) अङ्क र दृश्यहरू वाध्यकारी रूपमा हेर्न विवश एक भावुक दर्शक र एक लेखकका नाताले नेकपाका हिरोहरू,आदर्शका धरोहर मूर्धन्य नेताहरूद्वारा कुर्सी राजनीतिका नाममा भैरहेको उक्तअराजनीतिक नाटक दर्शनबाट र आफैले प्राणप्रतिष्ठा गरी स्थापना गरेको गणतन्त्रको पावनधाम राष्ट्रपतिप्रति अनर्गल लाञ्छना लगाउँदा रमिता हेर्ने प्रवृत्तिका कारणममा स्वाभाविक रूपमा उहाँहरूप्रति जेजस्ता सञ्चारी (चिन्ता,जडता जस्ता ) भाव उद्बुद्ध भए त्यसको स्थायी भाव (क्रोध) र रौद्र रस परिपाकयुक्त जे जस्ता केही लेखहरू यसअवधिमा विभिन्न पत्रपत्रिका र अनलाइन मिडियामा मैले लेखेँ, तीउहाँहरूको ह्रासोन्मुख आदर्श जोगाउन र त्यो अझै स्खलित हुन नदिन र उहाँहरूको नायकत्वको सेयरले न्यूनतम बिन्दु नाघेर सर्किट ब्रेक नगराउने भन्ने मेरा लेखको आसय थियो ! त्यसै कारण मैले ती लेखहरू लेखेको कुरो विनम्रतापूर्वक अवगत गराउँदछु ।

यद्यपि जनताले पूर्ण बहुमत नदिएको अवस्थामा समेत एकआपसमा मिलेर राजनैतिक स्थिरताका लागि एउटै व्यक्तिको नेतृत्वको तर संसदीय गणितको हिसाब मिल्ने गरी मेलमिलाप पूर्ण तरिकाले चलाएका उदाहरण संसारमा मनग्गे पाइन्छन् । तर हाम्रो देशमा भने गठबन्धन सरकारको त कुरै नगरौँ, जनताले पूर्ण बहुमत दिएको सरकारलाई पनि सोही सत्तारूढ दलभित्रका अनेक गुटहरूको गुटबन्धन बनाई आआफ्ना गुटका मठाधीश वा महामन्डलेश्वरहरुले सरकारलाई एम्बुसमा पार्ने र कामै गर्न नदिने आसुरी प्रवृत्ति मौलाउँदै गएको देखेर मतदाताहरूसमेत वाक्कदिक्क भैरहेको विचित्र परिवेश देखा पर्यो ! अझै मन्त्रीपरिषद्को बैठक लगत्तै तात्तातै आफ्नै प्रधानमन्त्री विरुद्धको गुटधाममा स्याँस्याँ गर्दै धाउने माननीयज्यूहरूको नैतिकता (!) पनि यहाँ देखियो ! तसर्थ गठबन्धन सरकारको विकल्पमा जनताले शक्तिशाली सरकार चुनेका हुन्  गुटबन्धन सरकार होइन भन्ने आशय प्रकट गर्नु नै मेरा लेखको सार हो !

आज नेकपाका दुई अध्यक्षले र विशेष गरी परिस्थितिको गाम्भीर्य आँकलन गर्दै कामरेड प्रचन्डले बिचमा बदल्न लाग्नु भएको वा उहाँलाई कोर्स बदल्न बाध्य पार्ने दुष्प्रेरक तत्वको अज्ञात नेपथ्य निर्दिष्ट नाटक समाप्तिसँगै नाटकका मूल नायकहरू र सहनायकहरूले आत्मालोचनासाथ र कार्यक्षेत्रको स्पष्ट परिभाषा गरी अघि बढ्ने सहमति गरिसकेको अवस्थामा विगतका त्यस्ता दृश्य ठुङ मार्न नआउलान् भन्ने विश्वास गर्ने आधार तयार भएको देखिन्छ ! त्यस्ता दृश्य फेरि ठुङ मार्न नआईपुगुन् भन्ने आशय नै मेरो यो लेखको सार हो !

मैले यस अवधिमा जे लेख लेखेँ त्यो एउटा कोर्समा आधारित थियो यो२०७४ सालको आम चुनावमा नेपाली जनताले जसको नेतृत्वमा जुन पार्टीलाई बहुमत दिलाए त्यस पार्टीको उही नेतालाई नै पूर्ण कार्यकाल राज्यसञ्चालनका लागि अख्तियारी प्रदान गरेको कोर्ससँग सम्बन्धित थियो ! यो कोर्समा अहिले विभिन्न नाममा गुटबन्धनमा सक्रिय आदरणीय नेताहरूको समेत सहमति र जनता समक्ष उहाँले गर्नु भएको तमसुककै प्रतिफल समेत थियो ।

स्मरण रहोस्, शैक्षिक सत्रको वा आर्थिक वर्षको कोर्स एकवर्षे हुन्छ भने संवैधानिक सत्र अनुसार चुनावी कोर्स पाँचवर्षको हुन्छ । गत निर्वाचनको जनताका मतदानको सङकथन के थियो ! विभिन्न दलले जनताको घरदैलोमा पुर्याएको घोषणापत्रको पाठ्यपुस्तक कस्तो थियो ! र कुन चुनावी (लोक) सेवामा उत्रेका दल र नेतामध्ये जनताले कुन दल र कुन नेताको भरोसा र विश्वासमा यो विशिष्ट श्रेणीको अङ्क प्रदान गरेका हुन् ! र यो पाँच वर्ष कसको नेतृत्वमा सरकार सञ्चालनको मूल कोर्स लागू गर्ने विश्वासमा यो बहुमत प्रदान गरेका हुन् भन्ने कुरो घामजत्तिकै छर्लङ्ग छ !

यत्रो विशाल नेकपा छ ! त्यसका यतिविधि धेरै र विशाल भ्रातृ सङगठनहरू छन् ! हिजोको देशमा ‘ठण्डा भनेकै कोकाकोला’ भनेझैँ मुलुकका युवा भनेकै वाइसिएल र युवासंघ वाहेक कोही छैन जस्तो लाग्थ्यो ! क्रान्तिकारी र अनेरास्ववियू नामका लाखौँ विद्यार्थीहरूको इमानदार संगठन थियो ! आज मुलुकमा यस्तो माहामारीमा यी संगठन कुन कुनामा बसेर कुनकुन गुटका थानमा केकस्ता धजा चढाइ रहेछन्, अत्तोपत्तो छैन ।

यिनलाई कक्षाकार्यका रूपमा काममा लगाउने र गृहकार्य दिने पार्टीको सम्बन्धित विभागका इन्चार्जहरू कुनकुन गुटदेवका आराधनामा कहाँ व्यस्त छन् ! पार्टीको प्रचार विभाग छ, त्यसले आफ्नै पार्टीको सरकारले गरेका कामको केकति प्रचार गर्यो र अहिले सम्म केकतिवटा मुखपत्र निकाल्यो ? पार्टीको प्रचारले सो विभागको कतिवटा कक्षा चलायो वा नचलाएको भए चलाउनु पर्छ कि पर्दैन ! कि कतै कुनामा गुटभेलाका कोचिङ र ट्युसन सेन्टर चलाएर विधि र पद्धतिको रटान छाट्न मिल्ने हो ! पार्टीका कार्यकारी अध्यक्ष हुनुहुन्छ ! उहाँले आफ्नो कार्यकारी कक्षा चलाउन पर्छ कि पर्दैन ? आफ्नो पार्टीका कार्यकारीअध्यक्षले नियमित लिनुपर्ने  कार्यकारी कक्षामा घाँस उम्रिसकेको छ ! विद्यार्थीहरू (पार्टी सदस्यहरू) भर्ना भएदेखि एक दिन पनि कक्षाको अनुहार देख्न पाएका छैनन् भने यस दोषको जिम्मेवार को हो ? पाएका कक्षामा पढाइ नै हुन सकेका छैनन् ! नचलेकासबै कक्षा सुचारू हुनुपर्यो र चलेका कक्षामा गएर होहल्ला मच्चाउने काम हुनुभएन भन्ने मात्र मेरा लेखको आशय हो ।

दुई पार्टीविद्यालय मर्ज गरेर गठन भएको नयाँ नेकपा नामक स्कूलका नयाँ परिचयपत्र नै बाँडिएको छैन ! सङ्गठन विभाग र विदेश विभाग र अरू अनगिन्ती विभागहरू कता भागाभाग छन् ?  जजसले जुनजुन कक्षाका जिम्मेवारी लिनुभएको छ, उहाँहरू आआफ्ना कक्षा लठबज्र छाडेर नियमित कक्षा लिइ रहेका सरकार प्रमुखका कक्षामा पसेर हल्ला गर्ने राम्ररी पढाइरहेको कक्षामा पढाएको हुँदै भएन भनेर निहु खोज्ने र आर्थिक अराजकता मच्चाउने उद्देश्यले नै त होला, अर्थशास्त्र राम्रोसँग पढाइरहेका क्लास टिचरलाई निकाल्न तानाबाना बुन्ने र अहिले आएर  निकालिसमेत दिने, कक्षामा हल्ला भयो,प्रधानमन्त्री राजीनामा देउ ! भनेर बुरुकबुरुक उफ्रने जात्राले गर्दा नेकपाको निशुल्क राजनीतिक गाईजात्रा अब अत्ति भो भन्नका लागि मात्र यी लेख लेखिएको हो, अन्यथा कदापि होइन !

त्यति मात्र होइन विगत दुईतीन दशकका चुनावी लोकसेवामा उत्तीर्ण वा अनुत्तीर्ण जेसुकै भएर होस्, एक वा अनेकपल्ट सरकार प्रमुखको रूपमा कक्षा लिएर परीक्षित भैसक्नु भएकाहरू र आफ्नै नेतृत्वमा आमचुनावी महासमरमा होमिनुहुनेहरूले प्राप्त गरेको त्यतिबेलाको सफलताको तस्विर पनि जिउँदै छ ! त्यतिबेला जजसले नेतृत्व गरेर पार्टीको सेयरबजारलाई जुनजुन अवस्थामा पुर्याउनु भयो त्यसबेलाको तस्विर र अहिलेको तस्विरचुनावी तीर्थका मतदातेश्वर नरनारायणहरूले त्यसको हिसाबकिताब राखेकै होलान् ! एकपल्ट आआफ्ना कार्यकालको सिक्काका गाई मात्र होइन त्रिशूल पनि हेर्नुस् भन्ने नै मेरा लेखको आशय हो, अन्यथा हुँदै होइन !

भनिन्छ, नेपाल पशुपतिनाथको देश हो ! नेपाली जनता पशुपतिनाथ अर्थात शिवजी जस्तै आशुतोष छन् तर कतिपय राजनीतिका हस्तिहरू पशुपतिछेउका अघोरी वा पुराणकालका अगस्ति बनिरहेछन् ! आम नेपाली जनता यति मिहिनेती छन् कि उनीहरूलाई सरकारले केही दिनु पर्दैन केबल अवसर दिए पुग्छ ! उनीहरूको कृषि उत्पादनलाई बिचौलियाको जालो च्यातेर उपभोक्ता समीप पुर्याउने वातावरण बनाइदिए पुग्छ ! मुलुकलाई एनसेलको बक्यौता नतिर्ने वा कुनै बहाना छुट दिनेलाई कार्वाही गरिदिए पुग्छ ! आफ्ना खेतको बाली मल नपाएर सुकेनाश खाए खाओस् तर मल नल्याई किसान मार्ने  त्यस्ता ठेकेदारलाई कार्वाही मात्र  गरिदिए वाहवाही हुन्छ ! बिल नतिर्ने सरकारी कार्यालयको लाइन एकपल्ट काटिदिँदा मन्त्रीहरू आजीवन सेलिब्रेटी बनाइन्छन् ! भने अर्कातिर केही वर्षअघिसम्म हवाइ चप्पल पडकाउँदै आफ्नै टुप्पी सम्म हिलो छ्याप्ने हरूको सपना बिल गेट्सलाई पछ्याउने छ !  बिल गेट्सलाई होइन आँखा चिम्लेर एकपल्ट आफ्नै अतीतलाई हेर्नुस् भन्ने मेरा लेखको आशय हो !

र मेरा यी लेखहरू सबै आदरणीय नेताहरूले २०७४ सालमा नेपाली जनतासमक्ष यहाँहरूले पाँच वर्षे स्थिर सरकारका लागि तमसुक गर्दाको साक्षीकिनारामा रहेको एक प्रतिनिधि साक्षीका बकपत्र मात्र हुन्, अरू केही होइनन् ! यसरी सत्यतत्थ्य साक्षी बक्दा यहाँहरूको भावनामा अहिले चोट पुगेको रहेछ भने पनि कालान्तरमा यस सत्यको आभास यहाँहरूलाई पनि हुने नै छ ।

मैले राजनीतिक लेख यौटा विचार वाक्यमा लेखेँ ! जनताले पत्यार गरी दिएको व्यक्ति र पार्टीको बहुमतको सरकारका विरूद्ध  निर्लज्ज नाच जो नहोस् भन्ने आशय हो ! तर जिन्दगीभरि नियुक्तिमा र्याल चुहाइ रहेका क्रिटिकल थिङकिङको गायत्री जपधारी सर्वविज्ञ वा कुनै पदका लागि कैयौँ जोर जुत्ता फटाल्ने अनि कतिपय पदको स्वाद चाखी डकारिसकेका र कुनै पद नपाउन्जेल पूर्वपदमा टेकिरहेकाहरूलाई यी लेखका कारण पो विभिन्न माध्यमबाट अज्ञात पीडा र वेचैनी भैरहेको अनुभूत पनि गरिरहेको छु ! वहाँहरूप्रति बेचैनी पैदा हुने काम गरेकोमा क्षमा चाहन्छु !

अन्त्यमा, अब सबै आदरणीय नेताहरूले आआफ्ना कक्षा इमान्दारीपूर्वक लिने सहमति गर्नुस् र काम थालि हाल्नुस् ! सबै नेताहरू आदरणीय हुनुहुन्छ ! लोकतन्त्रमा आवधिक निर्वाचनको आँधिसम्म मुटुमाथि ढुङ्गा राखेर भए पनि पर्खनुस् ।  धीर पनि हुनुस् र धैर्य पनि गर्नुस् । यहाँहरूले विभिन्न सञ्चार माध्यममा एक अर्का विरुद्ध आरोप प्रत्यारोप लगाउँदा विर्सनु भएको हैसियत र होचिएको कद सम्झिनुस् ! जे जे छ, सबै मिलाउनुस् ! शक्तिशाली भनेर जनताले मतदान गरेको यो सरकारलाई शक्तिशाली बनाउन मदत गर्नुस् ! सरकारका कमीकमजोरीको कमिटीमा र असल कामको सार्वजनिक मञ्चमा सराहना गर्नुस् ! आगे यहाँहरू नै सर्वज्ञ हुनुहुन्छ !अहिलेलाई यत्ति !!!


तपाईको प्रतिक्रिया