✍️  जानुका खनाल
“आत्मचित्रण”
मितिः २०७७/४/३२
समयः रातको १० बजे
स्थान : सुत्ने कोठा

(घरको एउटा साँघुरो कोठाभित्र आफ्नो बिछ्यौनामा पल्टिँदै म आफ्नो जिन्दगीको बारेमा सोच्दै छ ।)
उफ १ गर्मी पनि के सारो बढेको । केहीबेर पङ्खा चलाउँ भने पङ्खा पनि छैन आफूसँग । बिछ्यौनासँगैको झ्यालमा भएको पर्दा सार्दै अलिकति झ्याल खोलेँ सुनसान रात बाहिर केबल कुकुरहरु भुकेको आवाज मात्र सुनिन्थ्यो । झ्यालबाट छिरेको सिरसिर चिसो बतासले मलाई केहीबेर आनन्दको अनुभूति दिलायो । समय हेरेँ ओहो १ घडीले रातको १० बजाइसकेछ । दिनभरि कार्यालयको कामले थाकेको शरीर तर आज किन हो मनमा अनेकौ कुराहरु खेल्दैछन् ।

आधा रात भइसक्दा पनि निन्द्रा आउने कुनै छाँटकाँट नै छैन । म आफ्नो जिन्दगीलाई लिएर एकछिन सोच्न थाल्छु । जिन्दगीमा धेरै आरोह अवरोहहरु पार गर्दै आँए । कहिले रमाउँदै अनि कहिले अनेक परिस्थितिको सामना गर्दै यहाँसम्मको यात्रामा म आइपुगेँ । हिजोको दिनमा सुख सयलमा बितेको त्यो बाल्यकाल अनि पुनः जिन्दगीमा आइपरेको त्यो ठुलो बज्रपात । आखिर जिन्दगीमा आफूले सोचजस्तो कहाँ हुँदो रहेछ र ? कुन प्रहरमा जिन्दगीको खुशी लुटिन्छ र दुःखको सागरमा चुलुम्म डुबिन्छ भन्ने कुरा कसैलाई थाहा नहुँदो रैछ ।

आखिर मेरो रसिक जिन्दगीमा पनि त्यो नसोचेको दिन आएरै छोड्यो । उमेर सानै भए पनि परिस्थितिले मलाई कलिलै उमेरमा धेरै कुरा सिकायोे । अभिभावकको काखमा रमाउँदै जिन्दगी सुखद बनाउने कति ठुलो चाहाना थियो तर त्यो चाहाना यो जुनीमा केवल चाहानामै सीमित भइदियो ।

हैट ! ती दिन सम्झिँदा पनि मुटु एक्कासि भक्कानिएर आउँछ । फेरि बिगतका ती दिन नसम्झिकन बस्न पनि त सक्दिन ।
(म केहीबेर मेरा आफन्तजनलाई सम्झन पुग्छु ।)

सम्झँदा पनि झनकक रिस उठेर आउँछ । आफन्तहरुसँग मलाई कहिल्यै नजिकिन मन लागेन । लागोस् पनि त कसरी आवश्यक पर्दा टाढिएका उनीहरु मेरो जिन्दगी कष्टमै बित्छ भनेर संज्ञा दिएका उनीहरुसँग टक्कर लिएर अघि बढेको मान्छे म । आज अथाह मेहेनतले मेरो प्रगति देखेर जिल्ल छन् ।

आज म आफनो लक्ष्य अनुसार अगाडि बढिरहेकी छु । जसमा मलाई गौरव पनि लाग्छ । तर यहाँसम्म आइपुग्ने बाटो सहज भने कहाँ थियो र ! कति मित्रले मनदेखि साथ दिए आँट अनि हौसला दिए । भगवान् झैँ प्यारा ती मित्रहरुको साथले नै मलाई अगाडि बढ्न ठुलो प्रेरणा मिल्यो । जसका कारण मैले एकपछि अर्को सफलता हात पार्दै गर्दै गएँ । (ती मित्रहरु सम्झँदा थोरै बेर मेरो मुहारमा खुशी झल्कन्छ ।)

एकैछिन् म टोलोउँदै पुनः सोच मग्न हुन्छु । मित्रहरु पनि सबै आफूले सोचेजस्तो कहाँ हुँदा रहेछन् र ! आफू त जसले जे भने नि विश्वास गरिहाल्ने मान्छे परेँ । सायद यही विश्वासको फाइदा उठाउँदै आफुभन्दा बढी विश्वास गरेको मित्रबाट नै म नराम्ररी ठगिएँ । यो क्षण त म जिन्दगीभर कहिल्यै भुल्ने छैन ।

(यो कुरा सम्झिरहँदा मेरो मन एक्कासि भक्कानिएर आउँछ अनि आँशुका धारा बग्न थाल्छ) । (फेरि मनलाई सम्हाल्दै) म पनि त कस्तो मूर्ख नि आजको स्वार्थी समाजमा मानिसले मन र व्यावहारभन्दा पनि रुप र धनलार्ई महत्त्व दिन्छन् भन्ने कुरा कस्तो नबुझेको । सायद यही कारणले होला हरेक परिस्थितिमा साथ दिन्छु भन्ने केही नजिकका मित्र पनि मसँग टाढिएको हुनुपर्छ ।

त्यसैले चित्त दुखाउनु व्यर्थ छ । हुन त अब यो कुरामा मन दुखाएर केही फाइदा त छैन । तर पनि मनमा यी कुराहरु आइरहन्छन् । बालापनदेखि नै एक्लै संघर्ष गर्दै आएको म आफ्नो नजिकको मित्रको साथले निकै खुशी थिएँ । जीवनमा अझ धेरै प्रगति गर्छु भन्ने लागेको थियो । मनमा ठुलो आँट पनि आएको थियो । तर त्यो सब क्षणिक भइदियो । हुन त जिन्दगीको कुनै प्रहर सबै मानिसहरु एक्लो अवश्य हुन्छन् ।

सायद स्नेह भन्ने चिज मेरो भाग्यमा नै छैन होला भन्ने लाग्छ । जीवनमा नियतिले साथ नदिए पनि कर्मले भने राम्रै साथ दिएको छ । यात्रामा त म हिजो पनि एक्लै थिएँ । आज पनि एक्लो छु । थाहा छैन अब यो एक्लो यात्रा कहाँसम्म पुगेर सदाका लागि टुंगिन्छ भन्ने कुरा । (बाहिर कुकुरहरु पुनः जोडले भुकेको आवाज सुनिन्छ ।) ओहो रात त निकै बितिसकेछ । भोलि सबेरै उठेर अफिस जानुछ । त्यसपछि म बत्ती निभाएर बिस्तारामा निदाउने कोसिस गर्छु ।


तपाईको प्रतिक्रिया