भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजकबाट भिभो निस्कनुलाई वित्तीय संकटको रुपमा लिन नहुने बताएका छन् । बीसीसीआईले गत साता आईपीएलको मुख्य प्रायोजक चिनियाँ मोबाइल कम्पनी भिभोसँगको प्रायोजन सम्झौता रद्द गरेको थियो ।

भारत र चीनबीच पछिल्लो समय चुलिएको सिमा विवादका कारण भिभो आईपीएलको मुख्य प्रायोजकबाट पछि हटेको थियो । ‘म यसलाई वित्तीय संकटको रुपमा भन्न सक्दिन,’ गांगुलीले भनेका छन्, ‘यो एक थोरै ब्लिप हो । र, तपाईले यस अवधिमा गर्न सक्ने भनेको व्यवसायिक रुपमा बलियो बन्नु हो । तपाई घाटाका लागि तयार हुन्छ भने तपाई सफलताहरूको लागि तयार हुनुहुन्छ ।’

यस अघि बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरेको थियो । आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ । बीसीसीआईले आईपीएलका लागि नयाँ प्रायोजक सार्वजनिक गरेको छैन । बीसीसीआईले यस वर्षको लागि नयाँ प्रायोजक खोजिरहेको समेत बताईएको छ ।

यस वर्षको आईपीएल युएईमा आयोजना हुनेछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ । यस्तै अध्यक्ष गांगुलीले बीसीसीआई ठुलो र बलियो सँस्था भएकोले यस्ता समस्या समाधान गर्न सक्षम भएको बताए । ‘बीसीसीआई एक धेरै बलियो सँस्था हो । खेल, खेलाडी र प्रशासकहरूले यसलाई बलियो बनाएको छ । बीसीसीआई यस्ता समस्या समाधान गर्न सक्षम छ,’ गांगुलीले थपे ।


तपाईको प्रतिक्रिया