काभ्रे (भकुण्डेवेशी) – नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिले नगर भित्रका सबै सामुदायिक र नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि माक्स र सेनिटाइजर वितरण गरेको छ ।

विद्यालय सञ्चालन भएपछि जोखिम अझै बढ्न सक्ने भन्दै सतर्कताको लागि ११ हजार पिस माक्स र आधा लिटर क्षमताका १ सय १० बोत्तल सेनिटाइजर वितरण गरेको अध्यक्ष दिनेशप्रसाद अधिकारीले जानकारी दिए ।

शिक्षक संघ नमोबुद्धलाई नेपाली कांग्रेसका जिल्ला सदस्य सन्तमान लामाले ६ हजार पिस माक्स र ९० बोत्तल सेनिटाइजर, जिल्ला सदस्य दिनेश भुर्तेलले ५ हजार पिस माक्स र नेपाल तरुण दल नमोबुद्धका अध्यक्ष मणिक लामाले २० बोतल सेनिटाइजर सहयोग गरेका थिए ।

नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका अध्यक्ष राजेशराज महत, पूर्व सभासद हर्षजित लामालगायत कांग्रेस नेताहरुले विद्यालयका प्रतिनिधीलाई हस्तान्तरण गरेका थिए ।

ग्रामिण पाठशालाका विदुर शर्मा भण्डारीले नीजि विद्यालयलाई समेत सम्झिएर सहयोग गरेकोमा आभार प्रकट गरे । विद्यालयक प्रधानाध्यापक र शिक्षकहरुले संघको तत्परताको प्रशंसा गरेका छन् ।


तपाईको प्रतिक्रिया