इलाम – नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ । अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ । कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको देखिएको छ ।

वैदेशिक व्यापार प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ०७५÷७६ को तुलनामा आव ०७६÷७७ मा नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवाको परिणाम र आम्दानीमा गिरावट देखिएको छ भने जडीबुटीबाट बन्ने औषधिजन्य पदार्थको भने परिणाम र आम्दानी दुवैमा केही बढेको देखिएको छ । आव ०७५÷७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६÷७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । अलैँचीको निर्यात कम भएसँगै यसबाट प्राप्त हुने आम्दानीमा समेत ठूलो मात्रामा गिरावट आएको देखिन्छ । आव ०७५÷७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६÷७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणाममा गिरावट आएको हो ।

यसरी अलैँचीको परिणाम र आम्दानीमा गिरावट आउनुमा चाहिँ अस्थिर बजार र असहज वाणिज्य नीति मुख्य कारण रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउनुहुन्छ । यस्तै नेपालबाट निर्यात हुने कृषिजन्य पदार्थ चियाको समेत परिणाममा गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । आव ०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकामा गत आवमा एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र निर्यात भएको देखिन्छ ।

आव ०७५÷७६ मा रु तीन अर्ब २० करोड ३९ लाख आठ हजारको चियाबाट आम्दानी भित्रिएकामा गत वर्ष ०७६÷७७ मा रु तीन अर्ब ७८ करोड २८ लाख ४१ लाखको मात्र देखिएको छ । यसरी एकै वर्षमा चियाको निर्यात खस्किनुका कारण चाहिँ चियामा विवाद भइरहनु र भारतीय बजारको भर नहुने जस्ता कारण रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईंको भनाइ छ । चापागाईंका अनुसार सरकारले चियालाई आवश्यक पर्ने मल पनि उपलब्ध गराउन नसक्नु र बन्दाबन्दीकै कारण चिया निर्यात हुन नसकेको हो ।

यस्तै ठूलो परिणाममा भारत निर्यात हुने अदुवाको समेत परिणाम र आम्दानीमा समेत १४ दशमलव नौ प्रतिशत गिरावट आएको देखिन्छ । आव ०७५÷७६ को मा एक करोड ४९ लाख १९ हजार १९५ किलो अदुवा निर्यात भएकामा गत आव ०७६÷७७ मा घटेर ८८ लाख ४६ हजार ९३१ किलो निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै अदुवाबाट आव ०७५÷७६ मा रु ५१ करोड २२ लाख ९६ हजारको आम्दानी भएकामा आव ०७६÷७७ मा रु ४३ करोड ५७ लाख ७८ हजारको आम्दानी भएको देखिन्छ । एकै वर्षमा यति ठूलो मूल्यमा आम्दानी घट्नुका कारण खेती गर्ने वैज्ञानिक पद्धति नभएको अदुवा व्यवसायी मातृका घिमिरे बताउनुहुन्छ । बर्सेनी तापक्रम बढ्दै जाँदा मौसम फरक पर्ने तर माटोको परीक्षण नभई खेती गर्दा अपेक्षाकृत फाइदा लिन नसकिएको घिमिरेको भनाइ छ । पछिल्लो समय अदुवाका बोट कुहिने कारण पनि उल्लेखीय आम्दानी हुन नसक्दा निर्यात घटेको उहाँको भनाइ छ । गत वर्ष निर्यात भएका कृषिजन्य पदार्थमध्ये औषधिजन्य पदार्थको आम्दानीमा भने केही वृद्धि भएको देखिन्छ । चिराइतोलगायत जडीबुटीलाई औषधिजन्य पदार्थका रूपमा लिने गरिन्छ । आव ०७५÷७६ मा पाँच दशमलव ३१ प्रतिशतले आम्दानीमा वृद्धि भएको देखिन्छ ।

कूल निर्यातको महत्वपूर्ण हिस्सा ओगटेको कृषिजन्य पदार्थको ठूलो परिणाममा गिरावट आउनाले प्रवद्र्धनका कार्यक्रम प्रभावकारी नभएको देखिन्छ । कूल नेपालबाट निर्यात हुने वस्तुमध्ये अलैँचीले चार दशमलव ११, चियाले दुई दशमलव ८५ र अदुवाले शून्य दशमलव ४५ प्रतिशत बजार हिस्सा ओगटेको छ । यसरी नेपालबाट निर्यात हुनेमध्ये अलैँची सातौँ, चिया ११औँ र अदुवा २२ स्थानमा पर्छ । रासस


तपाईको प्रतिक्रिया