घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानले मध्यम सुरुवात गरेको छ ।

म्यानचेस्टरमा पहिलो दिनको खेल सकिदा बुधबार पाकिस्तानले २ विकेट गुमाएर १ सय ३९ रन जोडेको छ । वर्षा र खराब प्रकाशका कारण ४९ ओभर मात्र खेलिएपनि पाकिस्तानले ठोस सुरुवात भने गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवात गरेपनि बाबर आजम र शान मासुदले टिमको इनिङ्स उकासेका थिए । अबिद अलीलाई पहिलो विकेटको रुपमा १६ रनमा गुमाएको पाकिस्तानले कप्तान अजहर अलीलाई सुन्य रनमा गुमाएको थियो ।

तर, क्रिजमा रहेका आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दै पाकिस्तानलाई सम्हालिरहेका छन् । यस्तै ४६ रन बनाएर मासुदले आजमलाई साथ दिईरहेका छन् । इंग्ल्यान्डका जोफ्रा आर्चर र क्रिस वोक्सले १/१ विकेट लिए ।

दुई टोलीबीच तीन खेलको टेस्ट सिरिज हुनेछ । कोरोनाको महामारीपछि इंग्ल्यान्डको यो दोस्रो टेस्ट सिरिज हो । पाकिस्तान भने पहिलो सिरिज खेल्न इंग्ल्यान्ड आएको हो ।


तपाईको प्रतिक्रिया