दमौली – भीमाद नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । सातौँ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेट नगरपालिकाले आइतबार सार्वजनिक गरेको हो । नगरप्रमुख मेखबहादुर थापाले रु ५६ करोड ५३ लाख सात हजार ७२० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये आर्थिक विकास क्षेत्रतर्फ कृषिमा रु एक करोड २४ लाख, पशुपंक्षीमा रु ९२ लाख ६० हजार, जलस्रोत तथा सिँचाइमा रु ८७ लाख, वनमा रु एक लाख, पर्यटनमा रु ६० लाख र उद्योगमा रु छ लाख बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासतर्फ यातायात पूर्वाधारमा रु नौ करोड २० लाख, भवन आवास तथा शहरी विकासमा रु तीन करोड ९६ लाख, उर्जामा रु पाँच लाख बजेट विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रतर्फ शिक्षामा रु एक करोड २० लाख ९९ हजार ७२०, खानेपानी तथा सरसफाइतर्फ रु एक करोड पाँच लाख, स्वास्थ्यमा रु एक करोड पाँच लाख १७ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारको सशर्त, विशेष र समपूरक बजेटमध्ये कृषि क्षेत्रतर्फ रु एक करोड ५३ लाख, पशुपंक्षीतर्फ रु एक करोड आठ लाख, जलस्रोत तथा सिँचाइतर्फ रु ९० लाख, पर्यटनतर्फ रु ७० लाख, यातायात पूर्वाधारतर्फ रु १० करोड २० लाख, भवन तथा आवास शहरी विकासतर्फ रु तीन करोड ९६ लाख रहेको छ ।

नगरपालिकाले कृषिमा रोजगारी र व्यावसायिकता, आर्थिक समृद्धिको लागि अपरिहार्यता भन्ने मूल नारालाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई गतिशील बनाउँदै आर्थिक क्रियाकलापलाई समृद्धितर्फ केन्द्रित गरेर लैजानुपर्ने चुनौती नगरपालिका समक्ष रहेको उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक क्रियाकलाप, कृषि उत्पादन, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्रमा परेको असरका आधारमा पुनरुत्थानका विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रासस


तपाईको प्रतिक्रिया