राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले दुई वर्षभित्र भलिबलको कभर्डहल बनाउने प्रतिबद्धता जनाएका छन् ।

नव नियुक्त सदस्य सचिवको स्वागतमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सिलवालले आफ्नो कार्यकालको सुरुवाती दुई वर्षमा भलिबलको कभर्डहल निर्माण गरिने बताएका हुन् । ‘कभर्ड हल बनाउन भलिबलल संघले समेत योगदान गर्नपर्छ । अबको दुई वर्षमा राष्ट्रिय खेलको कभर्डहल बनाउनुपर्छ ।’ सदस्य सचिव सिलवालले भने ।

सदस्य सचिव सिलवालले कभर्डहलका लागि आफुले उच्च राजनीतिक नेतृत्वसंग लबिङ गरेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीसंग समेत आग्रह गरेको बताए । राष्ट्रिय खेलको कभर्डहल नबनाएर राज्यले भलिबलमाथि अन्याय गरेको बताउँदै सिलवालले चाँडै यसको निर्माणलाई पूर्णता दिने आश्वासन दिए । उनले पूर्वाधार नभएसम्म कुनैपनि खेल विकास नहुने उल्लेख गर्दै सबै प्रदेशमा धेरै भन्दा धेरे भलिबल कोर्ट बनाउन पहल गर्नुपर्ने बताए ।

उनले भलिबललाई संघले ब्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै खेलाडी उत्पादनको योजना बनाउन आग्रह गरे । ‘भलिबललाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेनौ । यसलाई स्कुल कलेजबाट सुरु गरौ । खेलाडीलाई के गर्नपर्छ योजना बनाऔं ।’ उनले भने ।

सदस्य सचिवको सम्मानमा भलिबल संघले स्वागत कार्यक्रमको आयोजना गरेको थियो । सिलवाल अघिल्लो बर्ष भलिबल संघकै सिफारिसमा सदस्य सचिवमा आएका थिए । कार्यक्रममा संघले परिषद्को बोर्ड सदस्यमा मनोनित पूर्व खेलाडी ईन्दिरा निरौला र रिम रानाभाटलाई समेत बधाई तथा शुभकामना दिएको थियो ।


तपाईको प्रतिक्रिया