✍️  सेफ मोहन बहादुर गजुरेल
केन्द्रिय महा-सचिव (ग्लोवल नेपालीज सेफ फेडेरेसन)
संचालक (सुपरनोभा तालिम केन्द्र, धुलिखेल) ।

आज जनैपूर्णिमाको दिन हिन्दुहरुको विषेश चाड मध्यको एक चाड कर्मकाण्ड गरेकाहरुको काँधमा जनै र अन्यका हातमा डोरो बाध्नुका साथै घर घरमा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी छ । पछिल्लो सयम सबै समुदायकमा यसको लोकप्रियता बढेको छ । ‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ नौ देखि एघार प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा तिन÷चार दिनसम्म भिजायर राखिन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भन्ने गरेको पाईन्छ ।

क्वाँटी विभिन्न एघार किसिमका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार गरिन्छ ।मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ । बर्षाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ । क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अथार्त पूर्ण प्रोटिन पाइने पोषण विदहरुको तर्क देखिन्छ ।

फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुन्छ। मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ । तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्याउनुपर्ने खाध्य वीज्ञ लगायतका जानकारहरुको वताउँछन । यसरि समग्र रुपमा वुझ्ने हो भने हामि नेपालिको चाडपर्व र खानामा हाम्रो भोजन संस्कार पनि जोडियको देखिन्छ छ ।

हरेक चाडवाडको आ–आफ्नै महत्व रहेको हुन्छ । आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्मकाण्ड सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सुते धागोलाई दुई बेग्लाबेग्लै गाँठो(शिखा) पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा धागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्काे शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

जुन रक्षा (काँचो धागो)ले दानवहरुका महान राजा बलिलाई बाँधिएको थियो म तिमीलाई त्यही धागोले बाँध्दछु । यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्ने छ । रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ । हिन्दु परम्पराअनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास छ । कतिपयले आफै गुरु पुरोहित अथवा मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन पनि निकै प्रचलित छ । बिशेष नेपालको तराई क्षेत्रलगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढी रहेको छ । पहाडि समुदायमा भने आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि रहेको छ ।

क्वाँटी कसरी बनाउने
क्वाँटी बनाउने बिभिन्न तरिका हुनसक्छन्। कसैले भुटेर त कसैले झोल राखेर शाकाहारी स्वादको क्वाँटी पकाउँछन । कसैले कुखुरा, खसीको मासु वा खुट्टी मिसाएर पनि क्वाँटी बनाउँछन । यसमध्ये आज हामीले शाकाहारी क्वाँटी बनाउने तरिकाको वारेमा जानकारि दिएका छौ ।

आवश्यक सामाग्रीहरु
टुसा पलाएका सिमास गेडागुडी– ५०० ग्राम ( केराउ, चना, मुगी, मास, सिमी, भटमास,वकुल्ला,राजमा, आदि)
तेजपात–२/३ पात
ज्वानो– १० ग्राम
तोरी– ५ ग्राम
मसिनो गरि काटेको र पिँधेको लसुन– ३० ग्राम
मसिनो गरि काटेको र पिँधेका अदुवा– ३० ग्राम
ताजा हरियोर रातो खुर्सानी– २ पिस
जिराको धुलोे– २० ग्राम
धनियाँको धुलो – २० ग्राम
गरम मसलाको धुलो – १० ग्राम
बेसारको धुलो– १५ ग्राम
काटेको प्याज– ५० ग्राम
काटेको गोलभेडा– ६० ग्राम
नुन (स्वाद अनुसार)
काटेको हरियो धनियाँ– १५ ग्राम (गार्निस गर्न)

क्वाँटी वनाउने विधि
१.दुई/तिन दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस्
२.प्रेसर कुकर वा किटको कराईमा तेल तताउनुहोस ।
३.तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस्। एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो र हरियो खोर्सानी राख्नुहोस् र २/३ मिनेट भुट्नुहोस ।
४.अब, उम्रिएको मिसमास गेडागुडी हालेर केही बेर भुट्नुहोस ।
५.पाउडर मसलाहरु, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २/३ मिनेट भुट्नुहोस् ।
६.केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस यदी कराई पकायको भए छोप्नुहोस
७.ठूलो आगो पारेर करिब ६/७ सिठी लगाउनुहोस र हावा गएपछि बिर्को खोल्नुहोस ,कराईमा पकायको भय सानो आँचमा १ घण्टा जति पकाउनुहोस ।
८.क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ माथिवाट छर्कनुहोस ।
९.अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो । अव खानुहोस


तपाईको प्रतिक्रिया