घरेलु टिम इंग्ल्यान्ड र आयरल्याण्डबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । घरेलु टिम इंग्ल्यान्ड एक खेल अगाबै सिरिज आफ्नो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । पहिलो खेलमा सहज जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा समेत त्यहिँ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो । र, तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल जिते इंग्ल्यान्डले सिरिज आफ्नो बनाउनेछ । आयरल्याण्डविरुद्ध इंग्ल्यान्डका ओपनर जोइ डेन्लीले खेल्ने छैनन् । चोटको कारण उनले बाँकी दुवै खेल गुमाउने छन् ।

यता, आयरल्याण्ड दोस्रो खेल जित्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ । सिरिज जोगाउन आयरल्याण्डलाई दोस्रो खेलमा जित निकाल्नुको विकल्प छैन । तर , बलियो टिम इंग्ल्यान्डविरुद्ध आयरल्याण्डलाई जित निकाल्न कठिन देखिएको छ ।


तपाईको प्रतिक्रिया