काभ्रे (बनेपा) – काभ्रेमा मास्क नलगाई हिँडेका ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेका ९४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार नियन्त्रणमा लिएका उनीहरुलाई कोरना भाइरसको जोखिम, जनस्वास्थ्य र सुरक्षा मापदण्डका बारेमा सेचत गराई रु १०० रुपैया जरिवाना लिएर छाडिएको बताए ।

जिल्लामा कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको जारी गरेको न्यूनतम मापदण्ड पालना नगरेको पाईएकाले अनुगमन र चेकजाँच कडा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार चेकजाँचका क्रममा आज ९४ जनालाई नियन्त्रणमा लिइएको हो । सार्वजनिक स्थलमा सामाजिक दुरी कायम गरे नगरेको बारेमा पनि अनुगमन भइरहेको उनले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय काभ्रेले घरबाट बाहिर निस्किदा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने लगायत जनस्वास्वाथ्य र सुरक्षा मापदण्ड कायम गर्न निर्देशन गरेको थियो ।

भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि मास्क नलगाई हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिँदै धमाधम कारबाही थालेपछि जिल्लामा मास्कको खरिदसमेत व्यापक हुन थालेको छ ।


तपाईको प्रतिक्रिया