काभ्रे (धुलिखेल) – कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा संलग्न दुई जना फरार प्रतिवादीलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

आज (शुक्रबार) पत्रकार सम्मेलन गरी फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रे सार्वजनिक गरेको हो । जिल्लाको धुलिखेल नगरपालिका –११ आरुबोटेका ५४ वर्षीय कामीसिंह तामाङको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

बिहिबार पाँचखाल नगरपालिका १० स्थित बिपी राजमार्गको भित्री सडकमा तामाङको शव फेला परेको थियो । नचिनिने अवस्थामा टाउको अनुहार तथा शरीरका विभिन्न भागमा चोट पटक भएको अवस्थामा उनको शव फेला परेको थियो । घटना पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख समेतको अनुसन्धान टोलीले धुलिखेल नगरपालिका ११ बस्ने २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रुपेन्द्रमान लामालाई बिहिबार हत्यापश्चात लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबि पौडेलका अनुसार प्रहरीको अनुसन्धान समूहले बिहीबार साँझ नै दुवैलाई पक्राउ गरेको थियो । लामा काभ्रे र मैनाली ललितपुर ढुंगेसाँघुबाट पक्राउ परेका थिए। उनका अनुसार घटनालगत्तै कुकुरसहितको फरेन्सिक टोली उनीहरूको खोजीमा हिँडेको थियो ।

मैनालीले आफ्नो पेटीले तामाङको घाँटी बाँधेर केही परसम्म घिसारेका थिए। त्यसपछि दुबै जनाले ढुङ्गाले अनुहार टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुवैलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया