काभ्रे (साँगा) – समुदायमा कोरोना भाइरस लक्षण देखिन थाले पनि स्वास्थ्य मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट सवारी साधन प्रयोग गरी प्रवेश गर्ने सर्वसाधारणहरुको स्वाब संकलन गर्न थालिएको छ ।

स्वास्थ्य मन्त्रालयले उपत्यका प्रवेश गर्न नाकाहरु काभ्रेको साँगा, दक्षिणको फर्पिङ र काठमाडौंको नागढुंगाबाट उपत्यका प्रवेश गर्नेहरुको स्वाब संकलन गर्न थालेको स्वास्थ्य मन्त्रालय प्रयोगशाला विज्ञ समितिका सदस्य खेमराज सापकोटाले जानकारी दिए । विशेष गरी तराई जिल्लाका उच्च जोखिम क्षेत्रबाट उपत्यका प्रवेश गर्नेहरुमा कोरोना संक्रमणको सम्भावना रहेको छ/छैन भन्ने अवस्था पत्तालगाउन स्वाप संकलनको काम थालेको स्वास्थ्य मन्त्रालयको विज्ञ सदस्य सापकोटाले बताए ।

दश हजार जनाको स्वाब संकलन गरी परीक्षण गर्ने योजनाका साथ आइतबारदेखि काभ्रेको साँगामा उपत्यका छिर्ने सवरीहरुमा यात्रारत यात्रुहरुको स्वाब लिन सुरु गरिएको छ । दुई दिनमा साँगालगायत तीन नाकामा रहेको स्वास्थ टोलीले २५ सय स्वाब संकलन भइसकेको सापकोटाले जानकारी दिए । काभ्रेको साँगा हुँदै अरनिको र बिपी राजमार्ग हुँदै उपत्यकामा दैनिक धेरैजसो सवारी साधनहरु भित्रिने गरेका छन् ।


तपाईको प्रतिक्रिया